उदयपुर । उदयपुरमा सडक अबरुद्ध गरी कार रोकेर सर्वसाधरणमाथि हातपात गर्ने चार जना पक्राउ परेका छन् । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर १० खैराहझोडास्थित जंगल नजिकै सडकमा कार रोकेर यात्रुमाथि घरेलु हतियारसहित आतंक मच्याएको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घटना असोज ३ गते दिउँसो करिब ३ ः०० बजेको हो । सडकमा सवारीसाधन रोकेर अपशब्दहरू प्रयोग गर्दै गाली गलौज गर्नुको साथै धारिलो हतियार छुरी देखाई हातपात भएको भन्दै पीडितले जानकारी गराएसँगै टोली घटनास्थल पुगेर केहीलाई नियन्त्रणमा लिइएको उदयपुर प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी आएसँगै जिप्रका उदयपुरबाट इन्स्पेक्टरसहितको टोली र इलाका प्रहरी कार्यालय बेल्टारबाट आएको संयुक्त टोलीलो केहीलाई घटनास्थलबाट नै पक्राउ गरेको थियो । प्रहरीले शुक्रबार एक इमेलमार्फत सञ्चारमाध्यमलाई पठाएको बिवरण अनुसार घटनामा संलग्न नारद विक, अर्जुन पण्डीत, सेफकान्त चौधरी र भसन्तोष दनुवार पक्राउ परेका हुन् ।
चारमध्ये चौदण्डिगढी नगरपालिका १० हडियाका २० वर्षीय नारद विक र वर्ष १९ का अर्जुन पण्डित घटनास्थलबाट नै तत्काल पक्राउ परेका थिए । त्यस्तै चौनपा १० का स्थानीयद्धोय १९ वर्षीय सेफकान्त चौधरी १९ वर्षका भोटे भनिने सन्तोष दनुवारलाई भने अगाडि पक्राउ परेकाहरुको अनुसन्धानको आधारमा खोज्दै जाँदा धारीलो हतियारसहित समातिएको हो ।
सेफकान्त र सन्तोष बिहीबार पक्राउ परेका हुन् । उनीहरुलाई अभद्र व्यवहार मुद्धामा मुद्धा चलाइएको छ । चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरिएको उदयपुर प्रहरीले जनाएको छ ।