देबराज राई –
सिन्ताङ, भदौ १८ ।
खोटाङमा एक युवतीको ज्यान बचाउन अभियान्ताहरुले झण्डै अढाई लाख बराबरको आर्थिक रकम संकलन गरेका छन् । स्थायी घर उदयपुरका बेलका भई हाल खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर– १ बस्दै आएकी मञ्जीता तामाङको उपचारका लागि अभियान्ताहरुले दुई लाख २७ हजार आठ सय ४३ रुपैयाँ आर्थिक सहयोग जुटाएका हुन् ।
अभियान्ता इश्वर बन्जारा, राजेश बन्जारा, प्रकाश बन्जारा र इन्द्र लिमेल मगरलगायतको पहलमा दाताहरुबाट आर्थिक अवस्था कमजोर रहेकी मञ्जीताको उपचारका लागि खर्च जुटाइएको हो । ‘बिरामीको पारिवारिक अवस्था दयनीय रहेछ’ अभियान्ता इश्वर बन्जाराले भने, ‘अत्यावश्यक देखिएकाले थोपा थोपा संकलन गरी बिरामीको ज्यान बचाउने अभियान चलाएका हौँ ।’
बराहपोखरीस्थित आफन्तको घरमा बस्दै आएकी मन्जीता एक वर्षअघिदेखि दाहीने खुट्टा नचल्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । मोरङको बिराटनगरस्थित न्यूरो हस्पीटलमा उपचार सम्भव नदेखिएपछि राजधानीको ‘बी एण्ड बी’ हस्पीटलमा उपचाररत मञ्जीताको उपचारका लागि अस्पतालले माग गरेअनुसारको रकम संकलन भइसकेकाले आर्थिक संकलन अभियान बन्द गरी परिवारलाई बुझाइएको हो ।
बिरामीको मावाली हजुरबुवा बर्जमान तामाङले दाताहरुलाई अभियान्तामार्फत सकेको आर्थिक सहयोग गर्न आग्रह गरेपछि ‘मन्जीता तामाङ अभियान’ सञ्चालन भएको नेकपा एमालेका स्थानीय नेतासमेत रहेका अभियान्ता राजेश बन्जाराले जानकारी दिए । त्यस्तै काठमाडौंमा उपचारत रहेकी मन्जीताको उपचार व्यवस्थापनमा अस्पताल पुगेर इश्वर बन्जाराले हेरचाहदेखि सहयोग संकलनको चाजोपाजो मिलाउने कार्यमा खटिएका थिए । उनी पूर्व प्रहरी असई समेत हुन् । प्रहरी सेवापछि गाउँ फर्किएका उनी नेकपा एमालेको सक्रिय मानवसेवी स्थानीय नेताको रुपमा छवि बनाउदै आएका छन् ।
यसअघि पनि आफैले नेतृत्व गरेर थुप्रैको ज्यान बचाईसकेका अर्का अभियान्ता प्रकाश सहयात्री बन्जाराले पनि बिदेशमा रहेका बिभिन्न नेपालीहरुबाट सहयोग रकम जुटाउन पहल गरेका थिए । उनी हाल बैदेशिक रोजगारीको क्रममा मलेसिया बस्दै आएका छन् । त्यस्तै बराहपोखरी गाउँपालिकाका एकमुष्ठ कर्मचारीदेखि बिदेश र स्वदेशमा रहेका जम्मा ४८ जना दाताहरुबाट सहयोग जुटेको अभियानले जनाएको छ ।
मन्जीता बचाऊ अभियान सहयोग संकलन समितिले ईश्वर बन्जारा, संगिता तामाङ वडा अध्यक्ष ताराकान्त राई, प्रकाश बन्जारा, देबराज श्रेष्ठ (देवु पासा), सुनिल तामङ, केदार आले, देशवीर राई, गोविन्द शिव फुयल, नरेश राईलगायतका नाम सहयोगीको रुपमा उल्लेख गरेको छ । त्यस्तै कुमारबाबु बस्नेत, उमेश श्रेठ, ईन्द्र लिमेल, गुरूराजमणि सिग्देल, संगिता तामाङ, सन्ध्या तामाङ, नवीन तामाङलगायतको नाम समेत सहयोगीको रुपमा उल्लेख छ ।