उपहार न्यूज
उदयपुर बैशाख २७
उदयपुरको विकट पहाडि क्षेत्रलाई राजधानी काठमाण्डौ संग द्रुत गतिमा जोड्ने लाईफ लाइनको रुपमा रहेको कुनाईघाट–कुमलटार–घुर्मी सडक खण्ड अन्तर्गतको कुल ३७ किलोमिटर मध्य पछिल्लो समय ८ किलोमिटर नयाँ सडक ट्रयाक खन्ने काम सुरु भएको छ ।
ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्मा उपाध्यक्ष धनम मगर लगायत स्थानिय जनप्रतिनिधि विशेष पहलमा उक्त सडक खण्डको ८ किलोमिटर सडकको लागि प्रदेश नम्बर १ सरकारबाट तीन करोड बजेट सुनिश्चिता भएको थियो ।
कोसी करिडोरको बाटो हुदै घुर्मीबाट काठमाण्डौ सम्मको द्रुत मार्ग निर्माण गर्नका लागि प्रदेश नम्बर १ सरकार पूर्वाधार विकास कार्यालय उदयपुरले प्रदेश नम्बर १ सरकारको तीन करोड र पालिकाको ५० लाख गरी कुल तीन करोड ५० लाखमा खुलाईएको ठेक्का निर्माणको जिम्मा डिसि, दोभान, डि आर जेभीले एक करोड ७२ लाखमा प्राप्त गरेको थियो ।

कुनाईघाट कुमलटार घुर्मीको कुल ३७ किलोमिटर सडक मध्य कुमलटारबाट १२ किलोमिटर सडक ट्रयाक यस अघिनै संचालनमा आई सकेको छ । हाल उक्त सडक खण्ड अन्तर्गत सोरुङ राम्चेबेसी कन्यादह खण्डमा बैशाख १८ गतेबाट नयाँ ट्रयाक खोल्ने काम सुरु भएको निर्माण व्यवसायी हेम दाहालले जानकारी दिनु भयो ।
आगामी असार २० गते सम्मको लागि ८ किलोमिटर सडकको लागि हाल धमाधम नयाँ ट्रयाक खुल्ने काम भैरहेको दाहालले जानकारी दिनु भयो । कोसी करिडोरमा यातायात संचालनमा ल्याउनको लागि अब कुमलटारबाट कुनाईघाट तर्फ र घुर्मी खण्ड तर्फको सडकमा ट्रयाक खोल्न बाकी रहेको छ । कुनाईघाट कुमलटार घुर्मी सडक ट्रयाक खुलेर संचालनमा आए उदयपुरकै विकट मानिने ताप्ली गाउँपालिकाबाट ५ घण्टामानै काठमाण्डौ पुगीने गाउँपालिका उपाध्यक्ष धनम मगरले बताउनु भयो ।
उक्त सडक संचालनमा आए ताप्ली गाउँपालिका संगै छिमेकी पालिका लिम्चुङबुङका नागरिकहरुलाई पनि काठमाण्डौ आवत जावत गर्नका लागि सहज हुने उपाध्यक्ष मगरले बताउनु भयो ।
हाल काठमाण्डौ सम्मको यात्राको गर्नका लागि ताप्लीका नागरिकहरु कटारी गाईघाट आउनु पर्ने बाध्यता रहेको छ । उक्त सडक निर्माण भएर यातायात संचालनमा आए स्थानिय नागरिकहरुको जीवनस्तरमा बृद्धि हुने साथै स्थानिय उत्पादनहरुले बाहिरी जिल्ला सम्मको बजार पाउने स्थानिय नागरिकहरु बताउछन् । ३७ किलोमिटर सडकको बाकी ट्रयाक खोल्न सडकलाई निर्माण गर्नका लागि थप बजेटको लागि केन्द्र तथा प्रदेश सरकार संग थप बजेट माग राखिएको पालिका उपाध्यक्ष धनम मगरले बताउनु भयो ।