उपहार न्यूज
उदयपुर बैशाख १५
रौतामाई गाउँपालिका उदयपुरले आफुले प्रवाह गरेको सेवाको गुणस्तरको नागरिक मार्फत मापन गर्नका लागि आर्थिक बर्ष २०७९/०८० को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिहिबार पालिका केन्द्र भुट्टार स्थित नवनिर्मित पालिका भवनको कार्यक्रम हलमा पालिकाले दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा पालिका अध्यक्ष बीरेन्द्र आलेमगर र उपाध्यक्ष भुपेन्द्र थापाले आफुहरु पालिकाबासी प्रति थप जिम्मेबार भएर पालिका संचालनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँहरुले सार्वजनिक सुनुवाई केवल औपचारिकता पुरा गर्नका लागि मात्रै नभएर सार्वजनिक सुनुवाई गरिएका छलफल र प्रतिबद्धतालाई सहि तरिकाले पालना गरेर अघि बढ्ने समेत बताउनु भयो ।
राष्ट्र र समाजको लागि योजना र कार्य पानस उदयपुरले सहजीकरण गरेको उक्त कार्यक्रममा पालिकाका लेखापाल भुपध्वज रायामाझीले दोस्रो चौमासिक अवधि सम्मको वित्तिय प्रगति प्रस्तुती गर्नु भएको थियो । रौतामाई गाउँपालिकामा चैत मसान्त सम्ममा चालु बजेटको ६१.६२ प्रतिशत र पुजिगत तर्फ ४२.४७ प्रतिशत बजेट खर्च भएको प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो ।
पालिकाको चालु र पुजीगत गरी कुल ६३ करोड ५५ लाख ४४ हजार ६ सय ३३ रुपैया ५० पैसा मध्य हाल सम्म ५३.९० प्रतिशत खर्च भएको विवरण सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा प्राविधिक तथा योजना शाखा शाखा प्रमुख सन्तोष साह, स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरी, शिक्षा शाखा प्रमुख गोविन्द कार्की, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बविता परियार, पशु शाखा प्रमुख चुडामणी थापा, कृषि शाखा प्रमुख भुवन सुवेदि, प्रधानमन्त्री रोजगार शाखाको मनोज दाहाल, लघु उद्यम शाखाका मन्जु बस्नेत, पंजीकरण शाखा लक्षण तामाङ, पोषण शाखाको धनसरी परियारले हाल सम्म पालिकामा बिषयगत शाखाले गरेको कार्यक्रमको प्रगति प्रस्तुती गर्नु भएको थियो । कार्यक्रमको उद्घाटनशत्र पालिका शिक्षा शाखा प्रमुख गोविन्द कार्की तथा कार्यक्रम सहजीकरण पानस उदयपुरका सहजकर्ता विश्वराज तामाङ र किरण प्रसाद ढुंगानाले गर्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरुले पालिका संग सबद्ध विभिन्न बिषयमा सल्लाह, सुझाब तथा जिज्ञासा राखेका थिए कार्यक्रममा पालिका अध्यक्ष बीरेन्द्र आलेमगर, उपाध्यक्ष भुपेन्द्र थापा र २ नम्बर वडा अध्यक्ष होम बहादुर दाहालले सहभागीहरुले उठाएका बिषयमा उत्तर दिनु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतले स्थानिय तहको कार्यलाई प्रभावकारी बनाउनका लागि यस किसिमको कार्यक्रमलाई नियमीत संचालन गर्दै जाने र नागरिकमैत्री सेवा पालिका प्रशासनबाट संचालन गर्नु बताउनु भएको थियो ।









