उदयपुर । उदयपुरमा आगलागी हुदा करिब ५ लाख मूल्य बराबरको धनमाल क्षति भएको छ । जिल्लाको कटारी नगरपालिकास्थित वडा नम्बर ३ स्थित कटारी बजारको मुख्य चोक गोलपार्क नजिकै रहेको हिमगंगा होटलमा आगलागी हुँदा सो मात्राको भौतिक क्षति भएको हो ।
घटना शनिवार बिहानको हो । इलाका प्रहरी कार्यालय कटारीका अनुसार आगलागीबाट क्षति भएको सो होटल स्थानीय कमल साहले संञ्चालन गर्दै आएका थिए । होटलमा आगलागी हुँदा ५ लाख बारावरको क्षती भएको सोही वडाका वडाअध्यक्ष पुष्कर खड्काले जानकारी दिए । उनका अनुसार एकाबिहानै भएको कारण आगलागी तत्काल स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
आगो होटलको काउण्टरबाट सुरु भएको थियो । त्यसपछि बिस्तारै सल्कीदै गएको आगोले फ्रिज लगायतका सामग्री जलेर नष्ट भएको होटल संञ्चालक साहको भनाई छ । बजारको मध्यभागमै भएको आगलागी कटारी नगरपालिकाको बारुण यन्त्र, प्रहरी र स्थानीयले तत्काल नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताए । उनका अनुसार आगलागीलाई तत्काल नियन्त्रणमा ल्याउँदा ठूलो क्षति भएन ।
बजारकै मूख्य भागमा रहेको होटलबाट भएको आगलागी तत्काल नियन्त्रणमा ल्याउन नसकेको भए बजार क्षेत्रमा सोही होटलसँग जोडिएका अन्य होटल तथा घरहरुमा समेत ठूलो जनधनको क्षती हुन सक्ने सम्भावना थियो ।