Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

१८ महिनामा उज्यालो रौतामाई बनाउछौ : अध्यक्ष आलेमगर

  • उपहार न्यूज
  • शुक्रबार, पुष २२ २०७९
१८ महिनामा उज्यालो रौतामाई बनाउछौ  : अध्यक्ष आलेमगर

संघीय संरचनाको बिस्तारसँगै गाउँ गाउँमा सिंहदरबार पुगेको छ । आफ्नो गाउँ आफै बनाउने पाटोमा जनताको पहुँच स्वस्थापित छदैछ । उहिलेभन्दा तुलनात्मक रुपमा बजेटको आकार पनि बढेको छ । आफ्नै गाउँलेहरुबाट चुनिएका जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन गरिरहेको अवस्थामा गाउँघर, टोल, छरछिमेकका चौतर्फी असहजता नजिकबाट नियाल्न झन् सजिलो देखिन्छ । यस्तै उदयपुरको धार्मिक तथा प्रचुर पर्यटकीय सम्भावना बोकेको रौतामाई गाउँपालिकामा पनि स्थानीय सरकारले जोडतोडले काम गर्दै आएको छ । करिब ९/१० महिनाअघि निर्वाचित भएसँगै अनवरत नागरिक सेवामा डटीरहनुभएका पालिका प्रमुख वीरेन्द्र आलेमगरसँगउपहारन्यूज डटकमका सम्पादक विश्वराज तामाङले गर्नुभएको कुराकानीको सम्पादित अंश : 

 

उपहार : यहाँहरु जनताबाट निर्वाचित भएर आउनुभएको करिब ९/१० महिना बितिसकेको छ, अब हालसम्मको कार्यकाल कसरी चलिरहेको छ ?
– आलेमगर : अहिलेसम्म राम्रै चलिरहेको छ । अब हामी निरन्तरताको पक्षमा छौँ । निरन्तर हामीले रौतामाईलाई समृद्ध बनाउने कुरामा लागिपरेका छौँ ।

उपहार : बिगतमा पनि यो संघीय संरचनापछिको यहाँहरु दोस्रो स्थानीय तहको सरकारमा हुनुहुन्छ । पहिलो स्थानीय तहमा खासगरी रौतामाईको समग्र स्थितीलाई कसरी समीक्षा गर्नुहुन्छ ?

  • आलेमगर : हामीले निर्वाचनताका पनि भनेका थियौँ । पहिला निर्वाचनपछि अघिल्लो निर्वाचित जनप्रतिनिधिबाट जे असल कार्यहरुको थालनी भएका थिए । सोही कार्यहरुमा इटा थप्दै पूरा गर्ने कार्यलाई निरन्तरता दिनेछौँ । जे पहिलो राम्रा कामहरुको रचनात्मक कामहरुको यो गाउँपालिकामा थालानी भएको थियो । हामी त्यसैलाई पछ्याउदै अगाडि बढ्दैछौँ ।

उपहार : समग्रमा रौतामाई गाउँपालिका लागि के कुरालाई प्राथकिमता दिनुभएको छ ?

  • आलेमगर : हाम्रो रौतामाई गाउँपालिका भौगोलिक रुपमा बिकट क्षेत्र भएकाले प्राथकिमतामा त धेरै नै छन् तर पनि आम जनसमुदायले चै विशेष गरी सडकलाई बढी प्राथमिकतामा राखेको हामी पाउछौँ । हुनत हामीले शिक्षा, स्वास्थ्य, सडक र विद्युतीकरण जस्ता पाटोहरुलाई हामीले उच्च प्राथकिमतामै राखेका छौँ । तथापी यतिबेला आम जनताले बढीभन्दा बढी सडक नै पहिलो सञ्जाल भएकाले पहिला सडक सञ्जाल जोडीसकेपछि चै आवतजावतका लागि सुगम हुन्छ भन्ने जनचाहना हामी पाउछौँ ।

उपहार : सडकको विषय यहाँले उठान गर्नुभो । जिल्लाको यो रौतामाईको मुर्कुची बजारदेखि पालिका केन्द्र भुट्टार जोड्ने सडक र अर्को त्रियुगा नगरपालिका १५ देखि धार्मिकस्थल रौतापोखरीसम्म पुग्ने सडक निर्माण नहुँदा पर्यटनदेखि आम सर्वसाधरणको आउजाउ अस्तव्यस्त हुँदै आएको गुनासो छ । यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

  •  आलेमगर : सो क्षेत्रमा सडकको स्तरोन्नती निश्चित रुपमा भएको छ । यो गाईघाटदेखि त्रिनपा १५ नम्बर वडादेखि रौतापोखरी हुँदै पालिका केन्द्र भुट्टार आउने सडक अहिले सडक बोर्ड नेपालले स्तरोन्नतीमा प्राथकिकता दिएको छ । हामीसँग कुराकानी भएर पनि बजेटहरु हालीसकेको अवस्था छ । यता मुर्कुचीदेखि रौतासम्म जानका लागि पर्यटकीय रणनीतिक सडकको रुपमा बिगतमा मानीय सुरेशकुमार राईले २९ करोड रकम व्यवस्था गर्नुभएको थियो । लहान सडकबाट ठेक्का लगाएर सोको काम मुर्कुची पुवारे र डुम्रीथुम्का हुँदै निर्माणाधीन अवस्थामा छ । यता मुर्कुचीदेखि पुवारे माझखर्क लिम्चुङबुङ हुँदै खोटाङको हलेसी महादेविस्थानसम्म सडक सञ्जाल पुर्‍याउनका लागि पर्यटकीय सडकका लागि ५० करोड व्यवस्था भएको छ । त्यो अहिले ठेक्का लाग्ने क्रममा छ । हामीले लिम्चुङबुङ पालिका अध्यक्ष र मेरोबीच दुईपक्षिय सहमति अनुसार रमितेदेखि माथि डिपिआर लिम्चुङबुङले गर्ने र मुर्कुचीदेखि रमिते सिन्कौलेसम्मको क्षेत्र रौतामाईले डिपिआर गर्ने गरी डिपिआर सम्पन्न गरी लाहान सडकलाई बुझाइएको छ । अब लगभग अबको एक हप्ताभित्र सो सडक ठेक्कामा लगाउनेछ । र सो सडकका लागि हामीले पहल गरेर यसरी अगाडी बढेको छ । पुवारेदेखि भुट्टारसम्मको सडकको हकमा समपूरक रकम हामीले पालिका र नेपाल सरकारको तर्फबाट लगानी भएको ३ करोड ३१ लाखमा ठेक्का लगाएका छौँ । सूचनामार्फत ठेक्का लागेर आशयमार्फत पत्रिकामा सूचना समेत प्रकाशन भइसकेको छ । प्रदेश सरकारबाट प्राप्त १ करोड ५ लाख भौतिक पूर्वाधार कार्यालयबाट ठेक्का लागेर निर्माणाधीन अवस्थामा छ । यसकारण हामीले सडक सञ्जाललाई तीब्र रुपमा अगाडी बढाएका छौँ । पालिका केन्द्रसम्म आउन वर्षायाममा हुने पुलपुलेसाको समस्या छ । प्रदेश सरकारले हामीलाई एउटा रसुवा खोलाको ढुंगे भन्ने ठाउँमा पक्की पुलका लागि योजना प्राप्त गरेका छौँ । यसको डिपिआर भएर योजना अगाडी बढीसकेको छ । हिजोमात्र पूर्वाधार कार्यालयका डिई गंगा यादवज्यूसँग कुरा भयो । प्रदेश अर्थमन्त्रालयबाट बजेट सुनिश्चित भइसकेको छ । त्यो पनि १५ दिनभित्र ठेक्का लाग्ने अवस्थामा छ ।

उपहार : समग्रमा सडक सञ्जाललाई प्राथमिकतामा राख्नुभएको हो ?

  •  आलेमगर : समग्रमा सडक सञ्जाल बिस्तारलाई प्राथमिकतामा राखेका छौँ । अब हामीले छिटो भन्दा छिटो पालिका केन्द्र जोड्नका लागि ४/५ ओटा खोलाहरुलाई कम्तिमा पक्की पुलको सञ्जालले जोड्न सकियो भने १२ काल कुनैपनि समयमा पालिका केन्द्रसम्म आउजाउ गर्न समस्या हल हुन्छ भन्ने कुरामा हामी लागेर उच्च प्राथमिकताका साथ काम गरिरहेका छौँ । पालिका केन्द्रसम्म जोडीने बिभिन्न वडा सडकहरुको सञ्जाल पनि जोडीसकेका छौँ ।

उपहार : अन्य सामाजिक विकासतर्फका कामहरु जस्तै शिक्षा, स्वास्थ्य खानेपानीलगायतका क्षेत्रमा पालिकाको प्राथमिकता कस्तो रहन्छ ?

  • आलेमगर : हामीले यसलाई पनि उत्तिकै सडकलाई जतिकै प्राथमिकताको सूचीमा राखेका छौँ । खानेपानीमा पनि उस्तै समस्या छ । शिक्षाभन्दा खानेपानीमा अलि कम समस्या देखिएको छ । खानेपानीमा दुई चारवटा वडाहरुमा समस्या आएका छ । ५ नम्बर वडामा अलि समस्या आएको । ३ नम्बर वडामा बिगतदेखिकै समस्या छ । ४ नम्बर वडामा स्वास्थ्य केन्द्र रहेको क्षेत्रमा बिगतदेखि नै खानेपानीको समस्या भएको कुरा उठ्दै आएको छ । यसका लागि हाम्रो आफ्नै आन्तरिक स्रोत र बिभिन्न संघसंस्थाहरुसँगको समन्वयमा खानेपानी समस्या समाधानका लागि पहल गरिरहेका छौँ । हामीलाई वल्र्डभिजनमार्फत हुरेण्डेकले खानेपानीको क्षेत्रमा लगानी गर्ने हामीसँग म्याचिङ फण्डमा केही रकमहरु पनि सुनिश्चित भएको छ । शिक्षामा हामीले नविनतम हिसावले फड्को मार्ने हाम्रो सोँच छ । हामीले शिक्षाका लागि यसैपटक मात्र अनलाईन सर्वर प्रबिधिबाट अगाडि बढ्न ६० वटा सामुदायिक विद्यालयमा नेपाल सरकारको शिक्षा बिभागमार्फत अनलाईन सर्वर सिस्टम भित्रिएको छ । त्यसमा अपडेट हुने कामहरु भइरहेको छ । जसले गर्दा शिक्षामा दैनिक कति शिक्षक र विद्यार्थी हाजिर भएर वा भएनन् र दैनिक पाठ्य बिवरण अभिभावकहरुले घरमै बसेर थाहा पाउनुहुनेछ । शिक्षालाई डिजिटल पद्धतीमा लैजान केही संस्थाहरुसँग हाम्रो नियमित संवाद भइरकेको छ । पालिकाको शिक्षा शाखा प्रमुख गोबिन्द कार्कीसँग बसेर शिक्षालाई अग्रगतिमा लैजान के गर्न सकिन्छ भन्नेबारे संवाद भएको थियो । विद्यालयको अनुगमनको पाटोलाई प्राथकिमतामा राखेर स्रोत व्यक्तिको पनि व्यवस्थापन गर्नुपर्छ भन्ने सुझाव आएको छ । शिक्षालाई अग्रसरता दिन सम्बन्धित निकायसँग निरन्तर छलफल भइरहेको छ । विद्यालयमा संघीय सरकारमा जे जति दरबन्दी प्राप्त भइरहेको छ । म निर्वाचित भएर आएदेखि १३ वटा दरबन्दी प्राथमिक तहको प्राप्त भइसकेको छ । जसमा ८ दरबन्दीमा शिक्षक नियुक्ती भइसकेका छन् । बाँकी ५ दरबन्दी चाही शिक्षा सेवा आयोगको पोस्टीङपछि प्राप्त हुने बचन पाएका छौँ । शिक्षक दरबन्दी पालिकाबाटै आन्तरिक स्रोतमार्फत थप गरी शिक्षा क्षेत्रलाई शिक्षामय बनाउन अगाडि बढ्न हामी निरन्तर छलफलमा छौँ ।

उपहार : स्थानीय स्तरमा कृषि व्यवसायिकीकरण, जिविकोपार्जनलगाय रोजगारी सिर्जना गर्ने सवालमा कसरी काम गरिरहनुभएको छ ?

  •  आलेमगर : यो सम्बन्धी बढी कृषि क्षेत्रलाई जोड दिनुपर्छ र सबैलाई स्थानीय तहमा जाँगिरमा जोडेर सम्भव छैन । अब यो कृषि क्षेत्रलाई प्रोमोट गरेर कृषिमा तरकारी, फलफूल, पकड क्षेत्रहरु बनाउने ताकी हरेक युवा कृषकहरु रोजगारमा संलग्न हौँ । र आफैले रोजगार सिर्जना गर्न सकौँ भन्नका लागि कृषि क्षेत्रमा बढी जोड दिएर रोजगारलाई सिर्जना गर्ने कुरामा हाम्रो सोँच रहेको छ ।

उपहार : धेरै युवाहरु देशबाट पलायन भइरहेको अवस्था रोक्न कस्तो योजना ल्याउनुभएको छ ?

  •  आलेमगर : कृषि क्षेत्रबाट आत्मनिर्भर बनाएर स्थानीय स्तरमै बसेर आफ्नो गाउँ ठाउँमै बसेर केही गरुन् भन्ने कुरामा हामी लागिरहेका छौँ ।

उपहार : पालिकाभित्र कृषि क्षेत्रको व्यवसायिक उत्पादनका लागि प्रचुर सम्भावना केमा देखिन्छ ?

  • आलेमगर : रौतामाई गाउँपालिका कृषि क्षेत्रमा प्रचुर सम्भावना बोकेको पालिका हो । यहाँ बाह्रैमास फलफूल, सब्जीहरु हुने भएकाले फलफूलको क्षेत्र बनाउने र तरकारीको पकेट क्षेत्र बनाउने कुरामा पनि प्रदेश सरकारसँग प्रस्तावना पेश गरेका छौँ । प्रदेश सरकारबाट पनि तीन वर्षे कार्यक्रम राखेर यसलाई क्षेत्रसम्म लैजान सकिन्छ भन्ने कुरा छ । रौतामाईमा उत्पादित तेजपात अन्तर्राष्ट्रिय रुपमा बजारीकरण समेत गर्न सकिन्छ । यो बजारक्षेत्रमा तेजपातको बजार एकाधिकार छ । यसलाई तोड्नका लागि बन कार्यालय र सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौँ । तेजपातको अन्तर्राष्ट्रिय बजारिकरणका लागि स्थानीय सरकारलाई नै निजी बन दर्ता गर्ने ऐन आएको छ । सोही ऐनअन्तर्गत तेजपातलाई दर्ता गर्ने र अन्तर्राष्ट्रिय बजारसम्म पहँुच पुर्‍याउन प्रक्रिया थालनी गरिसकेका छौँ । बन प्राबिधिकहरुलाई राखेर कृषकहरुलाई पनि बजारिकरणका लागि निर्वाचनताको समय पनि बचन दिएका थियौँ । यो बजेट व्यवस्थापन भएसँगै प्रारम्भ भएको छ । यो लागू गर्न सकिएको खण्डमा रौतामाईका धेरै युवाहरुले परनिर्भरता हुने समयको अन्त्य हुनेछ ।

उपहार : जिल्लाकै अग्लो स्थल नामेटार र प्रशिद्ध रौतापोखरी धार्मिक स्थलसमेत रहेको रौतामाई गाउँपालिकाले यी क्षेत्रहरुलाई पर्यटनसँग जोड्न कस्तो पहल गरिरहेको छ ?

  •  आलेमगर : अस्तीमात्र हामीले पर्यटन मन्त्रालय र बिभागबाट हिराकाजी राई आउनुभएको थियो । जसमा यस क्षेत्रको पर्यटकीय सम्भावनाबारे बिगत र वर्तमान अवस्थाबारे छलफल भएको थियो । उहाँले धेरै सम्भावनाहरु देखाउनुभएको छ । पर्यटकीय हिसावले राम्रो सम्भावना बोकेको पालिका रहेकाले यसबारे छलफल गरेर प्रस्तावना पेश गरे राम्रै सहयोग हुने आस्वासन आएको छ ।

उपहार : पालिकाभित्र विद्युत बिस्तार र व्यवस्थापनको पछिल्लो अवस्था के छ ?

  • आलेमगर : विद्युतीकरणका लागि रौतामाई गाउँपालिकाले क्रान्तिकारी छलाङ मार्ने कुरामा लागिरहेका छौँ । हामी निर्वाचित भएर आएसँगै विद्युतीकरणको कुरा उठाएका छौँ । केन्द्रमा पनि एमडीसँग कुरा गरेका छौँ । उर्जा मन्त्रालयमा पनि पुग्यौँ । रौतामाई मात्र नभएर समग्र जिल्लाको विद्युतीकरणको कुरा उठाउँदा बजेट सुनिश्चितका लागि अर्थसँग कुरा हुनुपर्ने भएकाले जिल्लाका लागि १ अरब ३४ करोडको ठेक्का लागेको छ । जसमध्ये उज्यालो नेपालअन्तर्गत उदयपुर पनि पर्छ । अहिले धमाधम रौतामाई ७, १, ८, २ र ३ नम्बर वडामा सर्वे भइसकेको छ । र बाँकी ४, ५ र ६ नम्बर वडा आजदेखि फेरि सर्वे हुँदैछ । ताकी १८ महिनाभित्र रौतामाईको नागरिकहरुले बत्ति नबलेको घर एउटा पनि हुँने छैन ।

उपहार : आगामी ५ वर्षभित्र रौतामाई गाउँपालिकालाई हामीले कस्तो स्वरुपमा देख्न पाउँछौँ ?

  •  आलेमगर : निश्चित रुपमा यसलाई आमुल परिवर्तन गर्ने कुरामा हाम्रो निरन्तर प्रयास रहनेछ । अहिले जे जति हाम्रो अगाडि चुनौतिहरु छन् । यी चुनौतिहरु पाँच वर्षपछि आजको जुन अवस्था छ यो अवस्थाबाट चै सुगम रहनेछ । आजको अवस्थाभन्दा अलि टाढा रहनेछ भन्ने हामीलाई विस्वास छ ।

Last updated:2023 Jan 23 Monday 15:44:32

प्रतिक्रिया
सम्बन्धित समाचार