-ललित राई
खोटेहाङ: २५ कात्तिक: खोटाङका १० स्थानीय तहहरूमध्यको एक खोटेहाङ गाउँपालिकाले आफ्नो मातहतका कार्यलयहरू तथा बिकास निर्माणका कार्यहरूको अनुगमन शुरू गरेको छ। स्थानीयस्तरसम्म पुगेर यथार्थ बस्तुस्थिती बुझ्ने र आवश्यक कामकारबाही अघि बढाउने ध्येयसहित गत आइतबारबाट अनुगमन तथा निरिक्षण शुरू गरिएको हो।हालसम्म पालिकाभित्रका ७ वटा वडाहरूको स्थलगत भ्रमण सम्पन्न गरिदा सामुदायिक बिद्यालयको अबस्था नाजुक पाइएको अनुगमन टोलिमा सम्मिलित प्रमुख प्रशासकिय अधिकृत अजम्बर राईले बताउनुभयो। उहाँले भन्नुुुभयो-“सामुदायिक बिद्यालयको ब्यबस्थापन,प्रशासनिक ब्यबस्था र नेतृत्व क्षमता कमजोर पायौँ।” अन्य कार्यलयहरूको अबस्था भने ठिकै नै रहेको उहाको भनाई छ। यस्तै बिकास निर्माणको सन्दर्भमा पनि बिकास कार्यको अनुगमन गरेपछि मात्र रकम भुक्तानीलाई प्राथमिकता दिने गाउँपालिकाले सोच लिएको छ। हालसम्म वडा नम्बर १ लिकुवापोखरी, २ वाप्लुखा, ३ सावाकटहरे ,४ बड्कादियाले ,५ चिप्रिङ, ७ खोटाङबजार र ८ सिम्पानीको अनुगमन सम्पन्न भइसकेको छ भने वडा नम्बर ६ इन्द्राणीपोखरी र ९ लिच्किराम्चे बाँकी रहेको गाउँपालिकाले जनाएको छ। अनुगमन टोलिमा उपाध्यक्ष रूपेश राईको नेतृत्वमा प्रशासन ,शिक्षा,योजना र पूर्बाधार शाखाका कर्मचारीहरू सहभागी छ्न।स्थानीय निर्वाचन २०७९ पश्चात् गरिएको खोटेहाङ गाउँपालिकाको यो पहिलो अनुगमन कार्यक्रम हो।

