उपाहार न्यूज
उदयपुर भाद्र ९
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ५ स्थित देउरी खोलामा निर्माण सम्पन्न भएको आरसिसि पुलको बिहिबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । प्रदेश सरकार सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले एक समारोहका विच पुलको उद्घाटन गर्नु भएको हो ।
त्रियुगा नगरपालिका वडा नम्बर ५ मा देउरी र कुसुमटार, दमौटी जोड्ने पुल निर्माण भए पछि स्थानियहरु हर्षित भएका छन् । विगतमा पुल निर्माण नहुदा बर्खाको समयमा समस्या भोग्दै आएका स्थानिय नागरिकहरुले पुल निर्माण पछि हर्षित भएको त्रियुगा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष उद्धबकुमार थापाले जानकारी दिनु भयो । प्रदेश सरकार सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय पूर्वाधार विकास कार्याल उदयपुर मार्फत निर्माण भएको पुलको निर्माणको जिम्मा पवित्र निर्माण सेवाले लिएको थियो ।

प्रादेशिक सडक पुल सहयोग एकाइ इटहरीको प्राविधिक सहयोगमा निर्माणको लागि पुलको कुल लागत ६ करोड ११ लाख ५१ हजार २ सय ७२ मध्य ४ करोड ३४ लाख ६४ हजार दुई सय ५२ रुपैया १३ पैसामा ठेक्का सम्झौता भई निर्माण सम्पन्न भएको हो ।
२०७७ जेठ २ गते ठेक्का सम्झौता भई २०७८ चैत २१ गते निर्माण सम्पन्न भएको पुल ७१ मिटर लम्वाई ३ स्पान र १० मिटर चौडाई रहेको पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनु भयो । पुल उद्घाटनको क्रममा आफ्नो भनाई राख्दै सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले स्थानिय नागरिकहरुको माग र आवश्यक्ताको आधारमा विकासलाई थप कार्य अघि बढाउने बताउनु भयो ।

स्थानिय नागरिकहरुको मागलाई संबोधन गर्न आफुले प्रदेश सरकार मार्फत पुल निर्माणलाई उच्च प्राथमिक्तामा राखेर निर्माण गरिएको कार्कीले बताउनु भयो । उहाँले प्रदेश सरकारले स्थानिय तथा संघ सरकार संगको समन्वयमा स्थानिय विकासलाई उच्च प्राथमिक्ताको साथ काम गरेको बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य संजा दनुवार, संविधान सभा सदस्य शान्तिदेवी चौधरी, जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विक, त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेत, वेलका नगरपालिकाका नगर प्रमुख असोक कार्की, त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राईले पुल उद्घाटन कार्यक्रममा शुभकामना मनतव्य राख्नु भएको थियो । कार्यक्रममा पूर्वाधार विकास कार्यालय उदयपुरका इन्जिनियर केशव विसिले स्वागत मनतव्य राख्नु भएको थियो, कार्यक्रमको अध्यक्षता प्रदेश सरकार सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव मोहनराज चापागाईले गर्नु भएको थियो ।