Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

अधिकार प्राप्तीको लडाईमा अग्रमोर्चा सम्हाल्दै ‘किरावि संघ’

  • उपहार न्यूज
  • सोमबार, भाद्र १५ २०७७
अधिकार प्राप्तीको लडाईमा अग्रमोर्चा सम्हाल्दै ‘किरावि संघ’

⚫ अञ्जीलहाङ किराँती-
किराँत राई समुदायको भाषा, धर्म, संस्कार, संस्कृतीलाई संरक्षण र सम्बद्र्धनका लागि आजभन्दा दुई दशकबढी अर्थात २२ वर्षअघि अगाडी २०५६ भदौ १७ गते “हाम्रो पहिचान भाषा र सस्कृती, सद्भाव बढाई त्यागौ बिकृती’’ भन्ने मूल नारासहित साथ नवीन राईको अध्यक्षतामा किराँत राई विद्यार्थी संघको स्थापना भएको इतिहास सम्झदा मात्रै पनि गौरब महसुस हुन्छ । किराँत राई विद्यार्थी संघ लाखौं किराँत राई समुदायभित्रका विद्यार्थीहरुको प्रिय, साझा, स्वतन्त्र गौरबशाली इतिहास बोकेको सङगठन हो । संघको संस्थापक अध्यक्ष नवीन राईलाई हालसम्म पनि राज्यले बेपत्ता अवस्थामै राखेको छ । किराँती योद्धा नविनको अवस्था सार्वजनिक हुन सकेको छैन । उहाँको शीघ्र सार्वजनिकीकरणका लागि सरकारसँग जोडदार माग गर्दछु ।

उपलब्धी
संघले स्थापना कालदेखि नै यो देशमा भएको जातीय विभेद, असमानता र अन्यायको विरुद्धमा शसत्त ढंगले आन्दोलन गर्दै आएको छ । २०६२ र ०६३ सालको महान जन आन्दोलन, आदिवासी जनजातिको आन्दोलनहरुमा आफ्नो सक्रिय र नेतृत्वदायी भूमिका निर्बाह गरेको छ । आज यो देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाउने संघर्षमय अवधीमा पनि हजारौं किराँत राई विद्यार्थीहरुको रगत बगेको छ ।

नेपालमा २७ देखि ३२ किरात राजाहरु यलम्बरदेखि राजा जितेगस्ती सम्म ८०० बर्ष शासन गरेको कुरा विभिन्न एतिहासिक स्रोतहरुमा उल्लेख गरिएको छ । उपत्यका, पश्चिममा बनेपा धुलिखेल, पुर्बमा ताप्लेजुङ, उतरमा हिमालय पर्बतसम्म वल्लोकिराँत, माझकिराँत, पल्लोकिराँत गरी किराँतीहरुले शासन सत्ता संचालन गरेको थियो । तत्कालीन गोर्खा राज्यको राजा पृथ्वीनारायण शाहले १७७५ मा राज्य एकीकरणको नाममा बर्बर खुनी हमला गरी जबर्जस्ती गोर्खा राज्यमा सामेल गराए । त्यसपछि राज्यले “एक भाषा,एक धर्म’’ को नीति अख्तियार गरी किराँत राई समुदायको भाषा धर्म सस्कृतिलाई मास्ने कामको सुरुवात भयो । त्यो खोसिएको, बिभेदमा पारिएको भाषा, धर्म, संस्कृतिलाई अब पुनः स्थापित गर्नु आजको आवश्यकता हो र यसमा सहयोग गर्नु राज्यको दायित्व हो ।

धर्मनिरपेक्षता, समानुपातिक, समाबेशी र आरक्षणको ब्यबस्था गर्नको निम्ति संघको अतुलनीय योगदान रहेको छ । संघको संगठित जनचेतनाको कारणले आज धेरै स्थानीय तहहरुमा पहिचानको आधारित नामहरु नामाङ्कन गरिएको छ । जस्तै किराँत राई समुदायको उद्वगम थलो तुवाचुङ जायजुमको नाममा हलेसी तुवाचुङ, लिम्चिङ्बुङ, थुलुङ दुँधकोसी, मिक्लाचुङ, हतुवागढी, चौडन्डीगढी, साकेला गापा, केपिलासगढी आदि । जस्तै ड्वाङ्कुम चोक, किराँत चौक, साकेला चौक, पुमा चौक आदि । आज राज्यको हरेक निकायमा आरक्षण र समाबेशीको ब्यबस्था मार्फत किराँत समुदाय अनुहारहरुले प्रतिनिधित्व गरिरहेको छ । स्थानीय तहहरुमा मातृभाषाबाट कामकाजी भाषा, विद्यालयहरुमा मातृभाषाबाट पठनपाठन, स्थानिय तहमा किराँती लिपिको प्रयोग जस्ता कामहरु किराँत राई विद्यार्थी संघको आन्दोलनको महत्वपूर्ण उपलब्धी मानिन्छ ।

आगामी कार्यभार
नेपालको संविधानमा अहिले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समाबेशीताजस्ता महत्वपूर्ण ब्यबस्थाहरु रहेको छ । यो आशिक रुपमा उपलब्धी त हो तर, यो आम उत्पीडित समुदायको निम्ति अधुरो र अपुरो नै छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई शब्द सापटी लिने हो भने, ‘‘यो संविधान आदि गिलास भरिएको पानी जस्तो छ । संघीयता त आएको छ, तर, ५ विकास क्षेत्रजस्तो प्रशासनिक एकाई जस्तो मात्र रहेको छ अधिकार सम्पन्न पहिचानमा आधारित प्रदेश बनेको छैन ।’’ धर्मनिरपेक्षताको ब्यबस्था त गरेको छ, तर फेरिपनि सनातन धर्मलाई नै प्रोत्साहन गर्ने स्पष्टीकरणको ब्यबस्था गरिएको छ ।आरक्षणको कोटाहरु हटाउने काम धमाधम भैइरहेको छ ।

स्थानीय तहहरुमा सञ्चालित मातृभाषाको पठनपाठन रोक लगाउने, गाई, गोरु काट्दा जेल हाल्ने कामहरु हुदै आएको छ । यो प्रतिगमनको संकेत हो । यो सरकारले प्राप्त उपलब्धीहरुलाई रक्षा गर्नुको साटो झन् कमजोर बनाउन लागिपरेको छ । यो उपलब्धीहरु गुम्ने खतरामा रहेको छ । अब यो महान उपलब्धीहरुलाई रक्षा गर्दै अझ अधिकार सम्पन्न संविधान बनाउनको निम्ति संविधान शंंसोधन गर्न किराँत राई विद्यार्थी संघले व्यापक जनदबाब सिर्जना गर्न आवश्यक छ । हामीले अहिले १ नं प्रदेश पहिचान र सभ्यताको आधारमा किराँत प्रदेश हुनुपर्दछ भन्दै आएको छौ । किराँत एउटा प्राचीन इतिहास, सभ्यता र संस्कृती हो । यो सबैको साझा पहिचान हो । किरात सभ्यताको चर्चा महाभारत, बेद आदिमा पनि गरिएको छ । त्यसैले हामी दावाको साथ भन्न सक्छौ कि देशको साझा सभ्यता र सम्पती हो ।

तर, यो दुई तिहाईको नेकपाको सरकारको क्रियाकलाप हेर्दा किराँत सभ्यतालाई स्वीकार नगर्ने जस्तो देखिन्छ । बिगतमा पनि त्यस्तै हुदै आएकै थियो । जस्तो कि प्रदेश ७ सुदुरपस्चिम, प्रदेश ६ कर्णाली, प्रदेश ४ गण्डकी, प्रदेश ३ बाग्मतीजस्ता पहिचान बिरोधी नामहरु राख्ने कामहरु भएको छ । त्यसै गरी प्रदेश न १ को नाम पनि कोशी या सगरमाथा राख्ने यो नेकपा सरकारको मुख्य ध्येय रहेको कुरा घामजस्तै छर्लङ्ग छ । कोशी र सगरमाथाले पहिचान मागेको छैन उसको आफ्नै पहिचान छ । ७ वटा नदी मिलेर बनेको नेपालकै ठुलो नदी कोशी, ८८४८ फिट विश्वकै अग्लो टाकुरो सगरमाथा । यहाँको भस्मे, खोरिया फाँडेर बस्न योग्य बनाउने यहाँको भूमीपुत्रहरुले पहिचान मागेका छन् । उनीहरुलाई पहिचान चाहिएको हो । समय घर्कदै छ हामी रणनैतिक हिसाबले सशत्त योजना बनाएर जनतामाझ जानुपर्ने बेला भएको छ । ‘एक भाषा एक धर्म’को एकल जातीय मुलुकलाई बहुलजातिय मुलुक, साझा फुलबारी बनाउन आबस्यक रहेको छ । शिवरात्री, दशैंजस्ता हिन्दु समुदायको चाँडमा टुडिखेलमा पड्कने तोप अब किराँत राई समुदायको चाँड साकेला उधौली, उभौलीमा पड्कनुपर्छ अनि मात्र यो देश सबै जातिको साझा बनेको महसुस गर्न सक्छौ हामी । अब किराँत राई विद्यार्थी संघ लाखौ लाख किराँती समुदायको आशा र भरोसाको केन्द्रबिन्दु बन्नुपर्दछ ।

उत्पीडित समुदायको मुक्ति जबसम्म हुदैन तबसम्म निरन्तर अग्रमोर्चामा रहदै मुक्तिगामी आन्दोलनको ‘‘शीर्षस्थ कमाण्ड’’ सम्हाल्ने साहस मिल्दै जाओस् । किराँविसंघको २२ औँ स्थापना दिवसको अवसरमा सबै सहयोद्धा किराँती विद्यार्थी मित्रहरुमा शुभकामना !

जय किराँत !!
लेखक राई, किराँत राई विद्यार्थी संघका केन्द्रिय महासचिव हुन् ।

Last updated:2020 Aug 31 Monday 10:01:54

प्रतिक्रिया
सम्बन्धित समाचार