उदयपुर — गाईघाट युनाइटेड एफसीले एलेभेन स्टार च्यालेन्ज कप–२०८३ को उपाधि जितेको छ। त्रियुगा नगरपालिका–१० बोक्सेमा शनिबार सम्पन्न फाइनलमा सलिना स्पोर्ट्सलाई ३–२ गोलले पराजित गर्दै गाईघाट युनाइटेडले उपाधि आफ्नो नाममा लेखाएको हो।रोमाञ्चक बनेको फाइनल खेलमा गाईघाट युनाइटेडका दिलीप राई, चुडा मगर र सुनील खड्काले गोल गर्दै टोलीलाई जित दिलाए। सलिना स्पोर्ट्सका लागि भने पृथ्वी मगर र निश्चल आलेले गोल फर्काए।
प्रतियोगितामा उदयपुरका विभिन्न क्षेत्रबाट ८ टोलीले सहभागिता जनाएका थिए। फाइनलमा दुवै टोलीबीच सुरुदेखि नै प्रतिस्पर्धात्मक खेल भए पनि गाईघाट युनाइटेडले तीन गोल गर्दै उपाधि कब्जा गर्न सफल भयो।व्यक्तिगत विधातर्फ गाईघाट युनाइटेडका दिलीप राई सर्वाधिक गोलकर्ता बने। रोशन मगर उत्कृष्ट गोलकिपर, रिक्की थापा मगर उत्कृष्ट मिडफिल्डर तथा चुडा मगर सर्वोत्कृष्ट खेलाडी घोषित भए। गाईघाट युनाइटेडकै विशाल राई उत्कृष्ट प्रशिक्षक चुनिए। उत्कृष्ट घोषित खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कारसहित मेडल प्राप्त गरे।
उपाधिसँगै गाईघाट युनाइटेड एफसीले ५० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरेको छ। उपविजेता सलिना स्पोर्ट्सले ३० हजार रुपैयाँ नगद र ट्रफी हात पारेको छ।समापन समारोहमा प्रमुख अतिथि समाजसेवी भागवत राउतले स्थानीयस्तरमा फुटबलको विकास तथा युवा खेलाडीलाई प्रतिस्पर्धाको अवसर सिर्जना गर्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताए।