गाईघाट । गाईघाटका युवा व्यवसायी तथा होटल जिम्बालाका सञ्चालक वाङचु शेर्पाले फुटबल खेलाडीहरूलाई जर्सी सहयोग गरेका छन् । शेर्पाले त्रियुगा नगरपालिका क्षेत्रको फ्युजन फुटबल क्लबका खेलाडीहरूलाई शनिवार बिहान जर्सी हस्तान्तरण गरेका हुन् ।
खेलकुद क्षेत्रमा युवाहरूको आकर्षण बढाउन तथा नयाँ पुस्तालाई खेलकुदमा लाग्न प्रेरित गर्ने उद्देश्यले जर्सी सहयोग गरेको व्यवसायी शेर्पाले बताए। आफूजस्तै युवाहरूलाई सकारात्मक तथा रचनात्मक क्षेत्रमा अघि बढ्न प्रोत्साहन गर्ने उद्देश्यले सहयोग गरेको उनको भनाइ छ।
उनले युवाहरूलाई खेलकुदका माध्यमबाट आफ्नो प्रतिभा पहिचान गराउँदै अनुशासन, स्वास्थ्य र सामाजिक एकतामा समेत योगदान पुर्याउन सकिने बताए। स्थानीयस्तरमा खेलाडीहरूलाई आवश्यक सामग्रीको अभाव हुने भएकाले आफ्नो तर्फबाट सानो भए पनि सहयोग गर्ने प्रयास गरेको शेर्पाले बताए।
जर्सी हस्तान्तरण कार्यक्रममा फ्युजन फुटबल क्लबका खेलाडी तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो। क्लबका खेलाडीहरूले जर्सी सहयोगले आफूहरूलाई थप उत्साह र हौसला मिलेको बताएका छन्।
स्थानीय युवाहरूलाई खेलकुदमा सक्रिय बनाउन व्यवसायी तथा सामाजिक व्यक्तित्वबाट हुने यस्ता सहयोगले खेलाडीहरूको मनोबल बढाउनुका साथै स्थानीयस्तरमा फुटबलको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।