उपहार न्यूज
उदयपुर भाद्र १३
न्यूरो कार्डियो मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि. विराटनगरको २६औँ वार्षिकोत्सवको अवसरमा उदयपुरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । वार्षिकोत्सवको अवसरमा अस्पतालले उदयपुर जिल्लामा पहिलोपटक मिनी म्याराथन प्रतियोगिता आयोजना गरेको हो ।
भदौ १३ गते शनिबार बिहान त्रियुगा नगरपालिका क्षेत्रमा आयोजना गरिएको मिनी म्याराथनको त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेत, अस्पतालकी निर्देशक डा. अनिशा विष्ट र अपरेसनल डाइरेक्टर राजेश भट्टराईले रिबन काटेर संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न खेलकुद क्षेत्रका खेलाडी, महिला समूहलगायत २०० भन्दा बढीको सहभागिता रहेको थियो। स्वास्थ्य र खेलकुदलाई जोड दिँदै आयोजना गरिएको प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने आयोजकले जनाएको छ ।
मिनी म्याराथनको पुरुषतर्फ निर्धारित दूरी २७ मिनेटमा पूरा गर्दै देवेन्द्र राई प्रथम भए। उनले २७ मिनेट ३० सेकेन्डमा दूरी पूरा गरेका भवन विकलाई पछि पार्दै उपाधि जितेका हुन्। मौसम मगरले २८ मिनेट २६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै तृतीय स्थान हासिल गरे। त्यसैगरी महिला विधातर्फ मिन जंगकुमारी र सुस्मिता चौधरीले निर्धारित दूरी ३३ मिनेटमा पूरा गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु. ११ हजार १ सय ११, रु. ७ हजार ७ सय ७७ र रु. ५ हजार ५ सय ५५ नगद पुरस्कार प्रदान गरिएको थियो ।
विजयी खेलाडीहरूलाई त्रियुगा नगरपालिका–१३ स्थित जनप्रेमी आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष डा. वीरेन्द्रकुमार विष्ट र त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए। अस्पतालको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमले स्वास्थ्यसँगै खेलकुद र सामाजिक क्षेत्रमा समेत जनचेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ ।