Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

युवालाई मदन भण्डारीका विचार आत्मसात गर्दै बदलिँदो समयअनुकूल अघि बढ्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

  • उपहार न्यूज
  • आइतबार, साउन ३१ २०८३
युवालाई मदन भण्डारीका विचार आत्मसात गर्दै बदलिँदो समयअनुकूल अघि बढ्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक, प्राविधिक र भूराजनीतिक परिवेशअनुकूल अघि बढ्न युवापुस्ताले मदन भण्डारीका विचारलाई गहिरो रूपमा अध्ययन र आत्मसात गर्नुपर्ने बताएकी छन् ।

आइतबार आयोजित ‘नेपालको परिवर्तनशील राजनीतिक, प्राविधिक र भूराजनीतिक वास्तविकताहरू’ विषयक युवा संवाद कार्यक्रममा बोल्दै भण्डारीले समय र समाज परिवर्तनसँगै युवाका सोच, आकांक्षा र सम्भावनासमेत फराकिलो बन्दै गएको बताइन् ।

उनले मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक प्रक्रियासँग जोड्दै जनताको बहुदलीय जनवादको अवधारणा अघि सारेको स्मरण गरिन् । लोकतन्त्रलाई निर्वाचनमा मात्र सीमित नराखी जनताको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, मानव अधिकार, बहुदलीय प्रतिस्पर्धा, सामाजिक न्याय र जनसहभागितासँग जोडेर अघि बढाउनुपर्ने दृष्टिकोण भण्डारीले प्रस्तुत गरेको उनले बताइन् ।

‘आज समय बदलिएको छ, समाज बदलिएको छ । प्रविधिले हाम्रो जीवन र राजनीतिक चेतनालाई नै परिवर्तन गरिदिएको छ,’ भण्डारीले भनिन्, ‘त्यसैले नयाँ पुस्ताले मदन भण्डारीका विचारलाई गहिरो गरी बुझ्दै, अध्ययन गर्दै आत्मसात गरेर आजको बदलिँदो समय, आवश्यकता र सम्भावनाअनुसार अघि बढ्ने बाटो खोज्नुपर्छ ।’

भण्डारीले युवासामु लोकतन्त्रलाई अझ प्रभावकारी र जनमुखी बनाउने, राज्यका संस्थालाई जवाफदेही र सक्षम बनाउने तथा राजनीतिक दलको नेतृत्वमा युवाको विश्वास र सहभागिता बढाउनेलगायतका चुनौती रहेको बताइन् ।

यस्तै, शिक्षा र रोजगारीका अवसर विस्तार गर्ने, युवालाई स्वदेशमै भविष्य निर्माण गर्ने वातावरण बनाउने तथा प्रविधि र सामाजिक सञ्जाललाई लोकतन्त्र, सूचना प्रवाह र नागरिक सहभागिताका लागि प्रभावकारी रूपमा प्रयोग गर्ने विषयमा पनि गम्भीर छलफल आवश्यक रहेको उनको भनाइ थियो ।

‘हामीले चाहेको समाज र राज्य कस्तो बनाउने भन्ने विषयमा खुला मनले सोच्ने, अध्ययन गर्ने र आपसमा विचार आदानप्रदान गर्ने आवश्यकता छ,’ उनले भनिन् ।

Last updated:2026 Aug 16 Sunday 08:49:36

प्रतिक्रिया
सम्बन्धित समाचार