Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

फेसबुकको सूचना नदेखेपछि हर्कले कारवाही गरे क्यूआरटीम

  • उपहार न्यूज
  • बिहिबार, साउन २१ २०८३
फेसबुकको सूचना नदेखेपछि हर्कले कारवाही गरे क्यूआरटीम

काठमाडौं, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फेसबुक पोस्टको एउटा सानो असमझदारीका कारण पार्टीको क्यूआर टिम नै विघटन गरेको पाइएको छ । अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको निर्देशन क्यूआर टिमका संयोजक ज्ञानु चाम्लिङले नदेखेको र पूर्व निर्धारित अर्कै कार्यक्रममा सहभागी भएको कारण यो परिस्थिति सिर्जना भएको हो । अध्यक्ष साम्पाङले १७ साउनको राति ८ः५६ बजेको समयमा लालीगुराँसको बिरुवा रोप्ने कार्यका लागि भोलिपल्ट बिहान ६ः३० बजे धरानको ’ग्रीन टी’ मा सहभागी हुन फेसबुक मार्फत् आह्वान गरेका थिए । सोही समयमा क्यूआर टिमका संयोजक ज्ञानु चाम्लिङ र उनको टोली भने धरानको नगर अध्यक्षले एक हप्ता अगाडि नै दिएको निर्देशन अनुसार पिण्डेश्वरी मन्दिरमा पानी बाँड्ने र सरसफाइ गर्ने कार्यक्रमको तयारीमा थिए ।
चाम्लिङका अनुसार अध्यक्षका सयौं पोस्ट हुने भएकाले बिरुवा रोप्ने सम्बन्धी साम्पाङको उक्त स्टाटस उनको नजरमा परेन । फलस्वरूप, बिरुवा रोप्ने कार्यक्रममा क्यूआर टिम उपस्थित हुन सकेन र उनीहरू पिण्डेश्वरी मन्दिर पुगे । यसलाई अध्यक्ष साम्पाङले ’निर्देशन विपरीत’ गएको र ’गुटबन्दी’ गरेको रूपमा लिए र १८ साउनको दिउँसो १२ बजे ज्येष्ठ नागरिक पार्कमा कार्यक्रम आह्वान गर्दै फेसबुक मार्फत् क्यूआर टिम विघटनको घोषणा गरिदिए । अध्यक्ष साम्पाङले क्यूआर टिम विघटन गरी त्यसको सट्टा श्रम संस्कृति सुरक्षा विभाग गठन गर्ने प्रक्रिया सुरु भएको जानकारी पनि फेसबुकमार्फत नै गराएका छन् । उनले ’निर्देशन नमान्नेहरूलाई पार्टीबाट निलम्बन र निष्कासन गरिने’ चेतावनी समेत दिएका छन् । साम्पाङले आफ्नो हरेक कदमको पछाडि गम्भीर र गहिरो कारण हुने दाबी समेत गरेका छन् ।
अध्यक्षको यो कदमप्रति क्यूआर टिमले कडा आपत्ति जनाएको छ । संयोजक ज्ञानु चाम्लिङ सहित ३४ जना सदस्यहरूले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमार्फत अध्यक्ष साम्पाङको निर्णयलाई ’विधान विपरीत र अलोकतान्त्रिक’ भनिएको छ । चाम्लिङले आफूहरूले पार्टी र श्रम संस्कृतिको लागि १५ जोर जुत्ता फाट्ने गरी र आफ्नै खर्चमा सङ्गठन विस्तारमा खटिएको बताउँदै अध्यक्षले एक कल फोन समेत नगरी फेसबुककै भरमा टिम विघटन गर्नु दुःखद भएको बताएका छन् । चाम्लिङले सामाजिक सञ्जालमा साम्पाङलाई ’जङ्गे’ बन्न खोजेको र ’काम लाग्यो भाँडो, नलागे ठाँडो’ गरेको आरोप समेत लगाएका छन् । उनले पार्टी विधि र विधानमा चल्नुपर्ने र अध्यक्षको एकल निर्णयले भोलि उनी प्रधानमन्त्री हुने लक्ष्यमा बाधा पुग्न सक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका छन् । विवाद चर्किएपछि अध्यक्ष साम्पाङले मङ्गलबार चाम्लिङलाई सहयोगका लागि धन्यवाद दिँदै रचनात्मक सोच राख्न सुझाव दिएका छन् । उता, संयोजक चाम्लिङले पनि पार्टी र नेतृत्वलाई बचाउनका लागि तथा शुभेच्छुकहरूको अनुरोधमा हाललाई यो विषयलाई स्थगित गरेको र पार्टी विधि अनुसार चल्ने आशा व्यक्त गर्दै साथीहरूलाई काममा फर्कन अनुरोध गरेका छन् ।

 

Last updated:2026 Aug 06 Thursday 00:55:27

प्रतिक्रिया
सम्बन्धित समाचार