बर्दिया, साउन १९ — बर्दियामा मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गरेको आरोपमा प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गरेको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल बर्दियाको ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका अन्दाजी २० वर्षीय गोविन्द जैसीलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक गोविन्द जैसी घाइते भएका थिए भने मोटरसाइकलको पछाडि सवार सोही नगरपालिका–९ बेथहनी गाउँ निवासी २७ वर्षीय आसाराम थारु सम्पर्कविहीन भएका थिए।
घटनापछि प्रहरीले खोजी तथा अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानकै क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आसाराम थारुको शव फेला परेको थियो।
प्रारम्भिक अनुसन्धानबाट दुर्घटनापछि घाइते अवस्थामा रहेका आसाराम थारुलाई उद्धार गर्नुको सट्टा चालक जैसीले निर्माणाधीन घरको सटरिङमा प्रयोग हुने काठ र मोटरसाइकलको चाबीले प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि मृतकले लगाएको माला/डोरी प्रयोग गरी घाँटी कसी हत्या गरेर शव सिँचाइ नालामा फालेको र घटनास्थलबाट फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न गोविन्द जैसीलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ। घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।