उपहार न्यूज
उदयपुर मंसीर ११
महालेखा परीक्षक तोयम रायले महालेखा परीक्षण गर्दा देखिएका वा निस्किएका बेरुजुहरुलाई आर्थिक रुपमा सबै भ्रष्टाचार हो भन्न नमिल्ने बताउनु भएको छ । महालेखा परिक्षकको कार्यालयले उदयपुरमा उदयपुरको गाईघाटमा आयोजित लेखा परीक्षण बेरुजु फस्र्यौट तथा सम्परीक्षण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा ंउहाँले सो कुरा बताउनुभएको हो ।
कार्यक्रमा महालेखा परीक्षक रायले बेरुजु सैद्धान्तिक र लागतमा हुने गरेको र महालेखा परीक्षणबाट देखिएका बेरुजुहरु सबैलाई भ्रष्टाचार भन्न नमिल्ने तथा कतिपय कुरामा कानूनी समस्या रहेकोेले कानुनी विषयले पनि बेरुजु देखिने गरेको बताउनुभएको छ ।
जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौर बहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा महालेखा परीक्षक रायले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले कानून बनाउँदा एकआपसमा नबाझिने गरी बनाउनु पर्ने भएकोले तीनबटै तहकाबिचमा समन्वय गरेर कानुन बनाउँदा बेरुजु नहुने र भए पनि फस्र्यौटमा सहज हुने बताउनु भएको छ ।
कार्यक्रममा सहभागी उदयपुरका आठवटै पालिकाका प्रमुख,उपप्रमुखले नियमित रुपले काम गर्दा पनि बेरुजु देखाउने, स्थानीय तहले गरेको शिक्षक, सफाई कर्मचारी, कानून अधिकृत तथा आवश्यक परेका कर्मचारीहरु कानुनी प्रक्रिया पुरा गरेर नियुक्ति दिएर गरेर काममा राख्दा बेरुजु हुने लगायतको समस्याको बिषयमा जानकारी गराएका थिए । महालेखा परीक्षक रायले स्थानीय तहका कर्मचारीहरुको दरबन्दी स्वीकृत नगरी नियुक्ति गर्दा तलब बेरुजु भएको बताउनुभयो । दरबन्दी स्वीकृत नगरी शिक्षक कर्मचारी नियुक्ति गर्ने प्रवृति रहेको हुँदा सो प्रक्रिया गलत भएकोले दरबन्दी स्वीकृत गराएर र विषय तोकर मात्र नियुक्ति गरी तलब भत्ता खुवाउनु पर्ने नत्र बेरुजु हुने बताउनुभयो ।
सो कार्यक्रममा महालेखा परीषदको कार्यालयका नायव महालेखा परीक्षक पशुपति कुमार काफ्लेले हाल देखिएका बेरुजुहरुको फस्र्योट प्रक्रिया तथा यसका कानुनी विधि प्रक्रियाका बारेमा जानकारी दिंदै धेरै बेरुजु देखिनुका कारणहरुका बारेमा महालेखा परीक्षक ऐन २०७४मा भएको व्यवस्थाका बारेमा बताउनु भएको थियो ।
महालेखा परीक्षक तोयम रायकै अध्यक्षतामा भएको उक्त कार्यक्रममा उप महालेखा परीक्षक पदमराज पौडेल जिल्ला समन्वय प्रमुख गौरवहादुर विश्वकर्मा, त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेत, उदयपुरका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी ,विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा लेखामा कार्यरत लेखा अधिकृत, लेखापाल, सहलेखापाल लगायतका कर्मचारीहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार