उपहार न्यूज
चैत २२,
काठमाडौं महानगरका मेयर बालेन शाह र संघीय सरकारको विवादका कारण हाजिर हुन नसकेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं १०३ दिनपछि कार्यकक्षमा पुगेका छन् ।
रास्वपाबाट निर्वाचित काठमाडौं–१६ की रजनी श्रेष्ठबाहेकका वडाध्यक्षहरुले महानगरका कर्मचारीहरुलाई साथ दिँदा बिहीबार उनी कार्यकक्ष प्रवेश गर्न सफल बने ।काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा तीन महिनादेखि कर्मचारीले तलब समेत पाएका थिएनन् । महानगरका आर्थिक गतिविधि ठप्प भएको स्थितिमा बिहीबार कर्मचारीहरु भेला भएर गुरागाईंलाई कार्यालय बाहिर स्वागत गरेका थिए ।
उनीहरुले ‘कार्यकारी सरलाई स्वागत छ’, ‘सम्पूर्ण कर्मचारी साथी एक हौं’ लगायतका नारा लगाउँदै उनलाई कार्यकक्षसम्म लगेका थिए । तर, ढोकामा भने पहिल्यै मेयर बालेनको सचिवालयले ताला लगाइदिएको थियो । कर्मचारीहरुले ढोकामा तोडफोड गरेर भए पनि गुरागाईंलाई प्रवेश गराउन खोजेका थिए । उनीहरुले ढोकाको सिसा फुटाएका थिए भने ताला समेत फोड्ने प्रयास गरेका थिए ।
त्यहीबीचमा नगर प्रहरी बलका प्रमुख राजु पाण्डेको नेतृत्वमा खटिएको टोली आएर अवरोध गरेपछि विवाद थप बढेको थियो । पाण्डेले ‘माथिको आदेश’ अक्षरशः पालना गर्ने भन्दै कर्मचारीलाई ढोका प्रवेश गर्नबाट रोक लगाएका थिए ।
अरु प्रहरी कर्मचारीलाई समेत बोलाएर कार्यालयको सुरक्षाका लागि जे सुकै गर्ने भन्दै उनले प्रमुख प्रशासकीय अधिकृतको ढोका अगाडि धर्ना दिएका थिए । त्यस क्रममा उनले महानगरपालिकाका कर्मचारीलाई ‘आफ्नो कुर्सीमा गएर काम गर्न उर्दी’ जारी गरेका थिए ।
तर, कर्मचारीले ‘खान नपाउँदा पनि चुप लागेर काम गर्ने रु चार महिना भइसक्यो, जहाँ पनि हामी पिल्सिनुपर्ने रु’ भन्दै प्रतिवाद गरे ।पाण्डेले प्रहरीले समेत तलब नपाएको तर, कार्यालयको सुरक्षा र चेन अफ कमाण्डका लागि खटिने भन्दै जनप्रतिनिधिबाहेक कर्मचारीहरुलाई बाहिर पठाउन मातहतका प्रहरीलाई निर्देशन दिए । कर्मचारी र नगर प्रहरीबीच तनाव थप बढिरहेको थियो, त्यही बेला महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल त्यहाँ पुगिन् र परिस्थितिलाई साम्य बनाइन् ।उनले वडाध्यक्षसहित जनप्रतिनिधिको बैठक राखिन् र निकास निकालिन् । त्यसपछि गुरागाईँले कार्यकक्ष प्रवेश गर्न पाएका थिए ।