उपहार न्यूज
उदयपुर पौष ११
उदयपुरको चौदण्डिगढी नगरपालिका उदयपुरको आर्थिक बर्ष २०८१/०८२ को पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम विहिबार सम्पन्न भएको छ । नगरपालिकाको आफ्नै सभाहल बेल्टारमा आयोजित कार्यक्रमको सहजीकरण त्रियुगा मिडियाले गरेको थियो ।
कार्यक्रममा सार्वजनिक सुनुवाई कार्यविधिमा उल्लेख भए बमोजिमको प्रश्नावली सहित स्थानिय नागरिकहरु संग लिईएको अभिमत सहितको प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रस्तुत प्रतिवेदन र कार्यक्रमका सहभागीहरुले नगरपालिका संग विभिन्न बिषयमा प्रश्न, जिज्ञासा र सुझाब राखेका थिए ।
त्रियुगा मिडियाका विश्वराज तामाङ र किरण प्रसाद ढुंगानाले सहजीकरण गर्नु भएको उक्त कार्यक्रममा सहभागीहरुबाट आएका विभिन्न प्रश्न तथा जिज्ञासाको बिषयमा नगरपालिका प्रमुख कालुमान लामा, उपप्रमुख मणिकादेवी दुलाल र प्रमुख प्रशासकीय अधिकृत जित बहादुर श्रेष्ठले संबोधन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख कालुमान लामाले नगरपालिका क्षेत्रमा विकास निर्माणको अबस्था उत्साजकरुपमा अघि बढि रहेको बताउनु भयो ।
नागरिकहरुको माग र आवश्यक्ताको आधारमा विकास निर्माणको कामहरु अघि बढेकाले अब बाकी कार्यकाल नागरिकलाई गुनासो गर्न नदिने गरी स्वर्णिम कार्यकाल बनाउने आफुहरुको तयारी रहेको बताउनु भयो ।
उपप्रमुख मणिकादेवी दुलालले नागरिक तहबाट आएका सल्लाह सुझाब र प्रतिक्रियालाई सकरात्मक रुपमा लिएर अघि बढ्ने बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत जित बहादुर श्रेष्ठले नगरपालिकाले पारदर्शि ढंगले नागरिकहरुलाई सेवा दिने गरी काम गरीरहेको बताउनु भयो । सार्वजनिक सुनुवाईको प्रतिवेदनमा आएका कतिपय गुनासोका बिषयहरुलाई नगरपालिकाले गुनासो आउननै नदिई काम गरीरहेको र आगामी दिनमा पनि सोहि बमोजिम काम गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा टेक बहादुर खड्का, दिपक बहादुर तामाङ, दल बहादुर नेपाली, सन्तोष रौनियार, पूर्ण बहादुर विक, शम्भु कटुवाल लगायतले कार्यक्रममा विभिन्न प्रश्न, जिज्ञासा र सुझाब राखेका थिए ।