उदयपुर
नजिकिँदै गरेको छठ पर्वको तयारी उदयपुरमा तिव्र बनाइएको छ । साझा सांस्कृति धरोहरकोरुपमा स्थापित छठ पुजालाई व्यवस्थित र आकर्षित बनाउने गरी तयारीलाई तिव्र बनाइएको हो ।
सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनारामा रातभर जाग्राम बसेर गरिने पुजाको विभिन्न उपसमितिहरु गठन गरी सबै काम एकैसाथ अघि बढाइएको त्रियुगा छठ पुजा व्यवस्थापन समितिका अध्यक्ष चन्दनकुमार साहले बताए ।
उनका अनुसार कात्तिक २० गते घाट स्थलको सरसफाइका लागि सशस्त्र, नेपाल प्रहरी, जेसिस लगायतका निकायलाई अनुरोध गरिएको छ । समितिको बैठकले सरसफाइ, आर्थिक सहयोग जुटाउने, व्यवस्थित सास्कृतिक कार्यक्रम, सुरक्षा, यातायात व्यवस्थापन, बिद्युत जडान, टेण्ट, घाटदर रेट लगायतका कामहरु गर्न उपसमिति गठन गरिएको अध्यक्ष साहले बताए ।
समितिका प्रमुख सल्लाहकार खेमनारायण यादव (राहुल)का अनुसार पर्वलाई व्यवस्थित र आकर्षक बनाउन उत्कृट प्रवेशद्धार निर्माण, दुई ठुला र दुई साना गरी चार वटा पुल, मूर्ति घर, सेल्फी स्टन्डलगायतका कार्यहरु उपसमितिमार्फत अघि बढाइएको छ ।
उनले नदी किनारामा विभिन्न स्टलहरु निर्माण, दैनिकजसो सरसफाइ, सम्याउने, प्रवेशद्धार निर्माण, छठ पुजामा चाहिने सामग्री किनबेचले छठको रौनक बढेको बताए । उनले मुख्य घाट व्यवस्थापन, मुर्ति स्टल निर्माण, साँस्कृतिक कार्यक्रमका लागि मञ्च निर्माण, स्टल, मुख्य तथा सहायक प्रवेशद्धार, विजुली वत्ति, साउण्ड सिस्टम लगायतका काममा जृटेको अध्यक्ष साहले बताए ।
नहाय खायसँगै सुरु हुने छठ पुजामा विशेषगरी उदाउँदो र अस्ताउँदो सुर्यलाई अर्घ दिने चलन छ । पर्वलाई विगत बर्षभन्दा अझ उत्कृष्ठ, व्यवस्थित र भव्य बनाउन आवश्यक अनुसार उपसमिति तयार गरी जिम्वेवारी वाँडफाँट गरिएको उनले बताए ।
छठ पर्वमा केराको अत्याधीक प्रयोग हुन्छ । विशेषगरी केरा, नरिवल, उखु, सुन्तला, नेवुवा, बेसार, चामल र गहुँको आँटा तथा गुंडबाट निर्मित ठकुवा, भुसुवा, पिरुकिया, गुणालगायत परम्परागत परिकारहरु यस पर्वमा प्रसादको रुपमा चढाइन्छ ।
केरा, नरिवल लगायत पूजा सामग्रीको आपूर्ति पूर्वी नेपालको भान्टावारी, त्रिवेणी, इनरुवा र भारदहसँगै भारतको आसाम, पटना, मोकामा, हांजीपुर, पश्चिम बंगाल, ठाकुरगंज तथा वीरपुरलगायत सहरबाट भित्रिने गरेको सल्लाहकार यादवले बताए ।
तस्बीर सौजन्य ः नागरिक बहस