किरण प्रसाद ढुंगाना
उदयपुर असोज १०
त्रियुगा नगरपालिका–६ स्थित जनता मावि देउरीको खेलमैदानमा १६ औं थारु जितिया महोत्सव २०८१ भव्य रूपमा सम्पन्न भएको छ । “आफ्नो संस्कृति, आफ्नो पहिचान, थारुको भेषभूषा थरुहटको शान “भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा थारु समुदायका बर्तालु महिलाहरुले आफ्ना सन्तानको दीर्घायुको कामना गर्दै निराहार व्रत बसी महोत्सवमा सहभागी भएका थिए ।
महोत्सवको प्रमुख आकर्षण रहेको सांस्कृतिक नृत्य प्रतियोगितामा रिपब्लिक युवा समूह त्रीयुगा–१३ ले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ । दोस्रो स्थान सृजनशील युवा क्लब त्रियुगा–५ ले प्राप्त गरेको छ भने तेस्रो स्थान जनजागरण युवा क्लब लक्षीपुरले जित्न सफल भएको छ । शान्त्वना पुरस्कार जनज्योति युवा क्लब त्रियुगा–५ ले प्राप्त गरेको छ।
कार्यक्रमको उद्घाटन प्रदेश पूर्व मन्त्री तथा प्रदेश सांसद हिमाल कार्कीले गर्नुभएको थियो । महोत्सवमा थारु समुदायको संस्कृति झल्किने विविध कार्यक्रमहरू आयोजना गरिएका थिए जसमा उदयपुरका विभिन्न २१ संस्थाहरूले सहभागिता जनाउँदै थारु सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
दिनभर चलेको महोत्सवमा थारु समुदायका महिलाहरूले व्रत बसी महोत्सवको शोभा बढाएका थिए भने रमाइलो मेला पनि लागेको थियो। मेलामा स्थानीय उत्पादनका स्टलहरू, खेल सामग्री, खानेकुरा लगायतका विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूले पनि आकर्षण पैदा गरेका थिए ।
महोत्सवमा त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई, पूर्व मन्त्री मञ्जु चौधरी, थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य रामबती चौधरी, त्रियुगा वडा नं. ६ का अध्यक्ष योगेन्द्र दाहाल, पूर्व अध्यक्ष निर्मल कुमार चौधरी लगायतका स्थानीय जनप्रतिनिधिहरू र समाजसेवीहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महोत्सवमा वडा नं. ६ का सदस्यहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी, पत्रकार, स्थानिय बासिन्दा र उदयपुरका विभिन्न भेगबाट आएका मानिसहरूको घुइँचो लागेको थियो।