उपहार न्यूज
उदयपुर जेठ १४
नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले सदस्यता सुद्धिकरणको नाममा क्रियाशिल पत्रकारहरुलाइनै सदस्यताबाट बञ्चित गरे पछि देशभरका पत्रकारहरुको आन्दोलित भएका छन् । पत्रकार सुद्धिकरणको नाममा केन्द्रले पूर्वाग्राहि ढंगले सदस्यता कटौती गरेको भन्दै उदयपुरमा पनि पत्रकार संबद्ध संघ संगठनहरुले पत्रकार महासंघ उदयपुर जिल्ला शाखामा तालाबन्दी गरेको छ ।
पत्रकार महासंघले सदस्यता सुद्धिकरणको नाममा एकै प्रकृतिका कसैको सदस्यता राख्ने कसैको सदस्यता कटौती गर्ने पूर्वाग्राहिपूर्ण निर्णय गरी निर्वाचन समितिलाई सदस्यता नामवली बुझाए पछि पत्रकारहरु आन्दोलित भएको प्रेस चौतारी उदयपुरका अध्यक्ष पुरुषोत्तम सापकोटाले बताए ।
उदयपुरमा पनि सोमबार विहान नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, फोनिज, तामाङ पत्रकार संघ, किरात राई पत्रकार संघले संयुक्त रुपमा विरोध जनाउदै महासंघमा तालाबन्दी गरेको प्रेस सेन्टर उदयपुरका अध्यक्ष सुपराज राईले बताए ।
पत्रकार महासंघ उदयपुरले २०८० जेठ ३० गते गरेको पत्रकार महासंघको सदस्यता नविकरण तथा नयाँ सिफारिस गरे वमोजिमको निर्णय कार्यान्वयनको लागि केन्द्रिय समिति संग आग्रह गर्दै आएको छ । जिल्ला स्थित सम्पूर्ण पत्रकार संबद्ध संघ संगठनहरुको सहमतीमा पठाइएको नाममा केन्द्रले पूर्वाग्रहपूर्ण ढंगले गरेको कटौती विरुद्ध उदयपुरका पत्रकार आन्दोलित भएका हुन् । साझा र सहमतीको आधारमा गरिएको निर्णय अनुसार केन्द्रले आफुहरुको माग पुरा नभए आगामी जेठ २६ गते तोकिएको निर्वाचन समेत प्रभावित पार्ने प्रेस युनियन उदयपुरका अध्यक्ष पर्शुराम थापाले जानकारी दिए । यता पत्रकार महासंघ उदयपुर शाखा अध्यक्ष भरत खड्काले एक प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला शाखाको निर्णय कार्यान्वयन गर्नका लागि माग गरेको छ । सदस्यता संबन्धि विवाद निरुपण नभए सम्म २६ गतेको लागि तोकिएको निर्वाचनको कुनै पनि प्रक्रिया अघि बढाउन नसकिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
