शंकर रिखाम मगर
उदयपुर जेठ १४
नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यसमितिको आयोजनामा दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । स्थानिय नागरिकहरुलाई सुविधा सम्पन्न हस्पिटलका विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य सेवा तथा परामर्श दिनको लागि आयोजना गरिएको शिविरको पहिलो दिन करिब ८ सयले सेवा लिएको नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नम्बर १० का वडा सचिव सन्तोष खड्काले जानकारी दिनु भयो ।
नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा त्रियुगा नगरपालिका वडा नम्बर १० बालमन्दिर स्थित नवनिर्मित भवनमा आयोजना गरिएका शिविरमा विशेषज्ञ चिकित्सक सहित २७ जनाको टोलीले सेवा दिई रहेको कांग्रेस वडा सभापती डेविट बस्नेतले जानकारी दिनु भयो ।
स्वास्थ्य शिविरमा जेनरल मेडिसियन, प्रसुती तथा स्त्री रोग सेवा, बाल रोग सेवा, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, शल्यक्रिया विभाग, नाक कान घाटि रोग सेवा, दन्त सेवा, आँखा जाच, रेडियोलोजी, मुटुको इसिजि र ल्याव परिक्षण सेवा दिईएको शिविरका समन्वयकर्ता नेपाली कांग्रेस उदयपुर प्रदेश सभा १ (ख) का सभापती सरोजकुमार बस्नेतले जानकारी दिनु भयो ।
दुई दिन सम्म संचालन हुने स्वास्थ्य शिविरको एक समारोहका विच नेपाली कांग्रेसका केन्द्रिय सदस्य लक्ष्मी परियारले उद्घाटन गर्नु भएको थियो । शिविरको उद्घाटनका क्रममा नेपाली कांग्रेस उदयपुरका सभापती तथा प्रदेश सभा सदस्य हिमाल कार्की, उपसभापती भिमचन्द्र राई, प्रदेश सभापती सरोजकुमार बस्नेत, त्रियुगा नगर सभापती प्रकास कुमार खड्का, प्रदेश सचिव फिरन खड्का लगायतको उपस्तिथी रहेको थियो । कार्यक्रम वडा सभापती डेविट बस्नेतको अध्यक्षता तथा वडा सचिव सन्तोष खड्काकाले संचालन गरेका थिए । सोमबारबाट सुरु भएको शिविर मंगलबार सम्म संचालन हुने छ ।
