उदयपुर । कोशी प्रदेश स्तरीय कविता प्रतियोगिता उपाधि उदयपुरका सर्जक गोठकृष्ण ठकुरीले प्राप्त गरेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्तीको सन्दर्भमा सुनसरीको चक्रघट्टीमा आयोजित प्रदेशस्तरीय प्रतियोगिताको तेस्रो संस्करणमा उदयपुर त्रियुगा नगरपालिका ३ मोतिगडा स्थायी घर भएका युवा साहित्यकार ठकुरीद्धारा लिखित तथा बाचित कविताले प्रथम स्थान हासिल गरेको हो ।
ठकुरीले ‘माझी दाई’ शीर्षकको कविता प्रस्तुत गरेका थिए । कोशी प्रदेशका बिभिन्न जिल्लाबाट २० जना प्रतियोगी सहभागी प्रतियोगितामा प्रथम ठकुरीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको दोस्रो हुने सुनसरीका हेमसागर तिमिल्सिना (सुमेरु)ले ललित सपना शीर्षकको कविता प्रस्तुत गरेका थिए । सुनसरीकी पुष्पा बोगटीको प्रस्तुतीले भने तेस्रो स्थान प्राप्त गरेको थियो । उनले कुल्चिएको धरातल शीर्षकको कविता प्रस्तुत गरेकी थिइन् । सुनसरीकै केशव रिजालले प्रस्तुत गरेको कविता नजोतिएको हलो शीर्षकले सान्त्वना प्राप्त गरेको थियो ।
साहित्यकार तथा प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सह–प्राध्यापक रमेश काफ्लेले महाकवि लक्ष्मी प्रसाद देवकोटाको जीवनी प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा कवि प्रकाश दिप्साली राई र कवि छविना मगर सम्मानित समेत भएका थिए ।