उपहारन्यूज-
उदयपुर, कात्तिक २ ।
आज बिहानैदेखि उदयपुरसहित देशको बिभिन्न भागमा वर्षा भइरहेको छ । वर्षातका कारण जिल्लाभित्र अधिकांस सडकहरु अबरुद्ध बनेका छन् । उदयपुर हुदै सञ्चालनमा रहेको पूर्व पश्चिम मदन भण्डारी लोकमार्गसमेत वर्षातले गर्दा अबरुद्ध बनेको हो ।
हाल बङ्गालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा परेको कारण मौसममा बदली भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशभर धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भएको छ।
प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा समेत भइरहेको छ । प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम प्रदेश र प्रदेश १ का केही स्थानहरू र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध पनि गरेको छ ।