उपहार न्यूज
उदयपुर मंसीर २९
सरकारले वन ऐन २०७६ मार्फत सामुदायीक वनहरुबाट तेहेरो कर लिन खोजेको विरोधमा सोमबार सामुदायीक वन उपभोक्ता महासंघले गाईघाटमा विरोध प्रदर्शन गर्ने भएको छ । सरकारले वन ऐन मार्फत सामुदायीक वन माथि शोसन गर्न खोजेको भन्दै वन महासंघ आन्दोलनमा उत्रेको हो । देशभरका २२ हजार सामुदायीक वन मार्फत सरकारले बार्षिक रुपमा वनमा हुने आम्दानीको १५ प्रतिशत लिदै आए पनि सोको समेत हाल सम्म सहि सदुपयोग नभईरहेको अबस्थामा तेहेरो कर लिनु वन माथिको अन्याय भएको वन महासंघको ठहर छ ।
सामुदायीक वन महासंघले वन ऐन संगै राष्ट्रपति चुरे विकास समितिको कार्यक्रम समेत खारेजीको माग गरेको छ । राष्ट्रपती चुरेको नाममा हाल सम्म ८ अर्ब बढि खर्च भए पनि त्यसको ठोस उपलब्धी नभएले चुरे संरक्षण जनतालाई दिईनु पर्ने वन महासंघका केन्द्रिय अध्यक्ष भारती पाठकले वताउनु भयो । उपहार एफ.एमको नियमित कार्यक्रम समस सन्दर्भ संग कुरा गर्दै उहाँले वन ऐनको नाममा गरिब जनताले मेहनत र परिश्रम गरेर जोगाएको वन प्रति सरकारको हेर्ने धारणा परिवर्तन हुन जरुरी रहेको उहाँले वताउनु भयो ।
सामुदायीक वन महासंघ उदयपुरले सोमबार गाईघाटमा आयोजना गर्न लागेको विरोध सभालाई संबोधन गर्न आईपुग्नु भएको अध्यक्ष पाठकले सरकारले सामुदायीक वनले गरेको संरक्षणको उचित मुल्यांकन गर्न नसकेको समेत बताउनु भयो । सोमबार विहान ११ बजे देखि हुने विरोध प्रदर्शनमा जिल्लाका सबै स्थानबाट करिब १० हजारको हारहारीमा उपभोक्ताहरु सहभागी हुने वन महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले जानकारी दिनु भयो ।