ृउपहार न्यूज
ताप्ली असार ११
उदयपुरको ताप्ली गाउँपालिका को १९औँ गाउँसभाले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ करोड १७ लाख २८ हजार रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी तथा भौतिक पूर्वाधार विकासलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो।
गाउँसभामा प्रस्तुत बजेटले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, आधारभूत सेवाको गुणस्तरीय विस्तार तथा दिगो विकासलाई मुख्य लक्ष्य बनाएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार बजेटमार्फत नागरिकको जीवनस्तर उकास्ने, उत्पादनमुखी क्षेत्रको प्रवद्र्धन गर्ने तथा स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने कार्यक्रमहरू कार्यान्वयन गरिनेछन्।
गाउँपालिकाले “उज्यालो ताप्ली, दिगो विकास, बालमैत्री सहितको पूर्वाधार, स्वास्थ्य, रैथाने कृषि, पर्यटन, रोजगार, हरियाली ताप्ली समृद्धिको आधार” भन्ने मूल नारासहित बजेट ल्याएको हो। उक्त नारालाई व्यवहारमा उतार्दै विकास निर्माणका योजना जनमुखी, समावेशी, वातावरणमैत्री र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
बजेटमा गुणस्तरीय शिक्षाको पहुँच विस्तार, विद्यालयहरूको शैक्षिक तथा भौतिक सुधार, स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण, मातृ तथा बाल स्वास्थ्य कार्यक्रम, कृषि उत्पादन वृद्धि र रैथाने बालीको संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकता दिइएको छ। साथै किसानलाई व्यवसायिक कृषि प्रणालीतर्फ आकर्षित गर्न आवश्यक कार्यक्रम तथा अनुदानका योजनासमेत समेटिएका छन्।
त्यसैगरी ग्रामीण सडक स्तरोन्नति, खानेपानी तथा सिंचाइ आयोजना विस्तार, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धनका कार्यक्रमहरू पनि बजेटका महत्वपूर्ण पक्षका रूपमा रहेका छन्। युवालाई स्वरोजगार र उद्यमशीलतामा प्रोत्साहन गर्ने कार्यक्रम, सीप विकास तालिम तथा स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने योजनाहरू समेत बजेटमा समावेश गरिएको छ।
प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमार्फत पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्य पनि गाउँपालिकाले लिएको छ। स्थानीय सम्भावनाको उपयोग गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने विभिन्न कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन गरिने जनाइएको छ।
गाउँपालिकाले प्रस्तुत गरेको बजेटले समग्र विकास, सेवा प्रवाहमा सुधार तथा आर्थिक समृद्धिको आधार निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।