उदयपुर, असार १० । वर्षायाम सुरु भएसँगै डेंगु, स्क्रब टाइफस, चिकनगुनिया लगायत किटजन्य रोगको जोखिम बढ्न थालेपछि स्वास्थ्य कार्यालय उदयपुरले सञ्चारकर्मीहरूलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममा जिल्लामा देखिन सक्ने औलो, कालाजार, डेंगु, स्क्रब टाइफस, चिकनगुनिया तथा अन्य इमर्जिङ रोगहरूको अवस्था, संक्रमणको जोखिम, रोकथामका उपाय र नियन्त्रणका रणनीतिबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमका वक्ताहरूले किटजन्य रोग नियन्त्रणमा उपचारभन्दा पनि जनचेतना महत्वपूर्ण हुने उल्लेख गर्दै सही र तथ्यपरक सूचना समुदायसम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका प्रभावकारी रहने बताएका थिए। विशेषगरी रोगका लक्षण, संक्रमणका कारण, सावधानीका उपाय तथा समयमै स्वास्थ्य संस्थामा पुग्नुपर्ने सन्देशलाई प्राथमिकताका साथ प्रचार–प्रसार गर्न आग्रह गरिएको थियो।
अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीहरूले स्वास्थ्यसम्बन्धी सूचना सम्प्रेषणलाई अझ प्रभावकारी बनाउँदै रोग नियन्त्रण अभियानमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले जनस्वास्थ्यका विषयमा स्थानीय तह, स्वास्थ्य संस्था र सञ्चारमाध्यमबीच निरन्तर समन्वय आवश्यक रहेको धारणा पनि राखेका थिए।
स्वास्थ्य कार्यालय उदयपुरले रोग नियन्त्रणका प्रयासलाई समुदायसम्म प्रभावकारी रूपमा पुर्याउन सञ्चारकर्मीहरू महत्वपूर्ण साझेदार रहेको जनाएको छ। कार्यक्रमले सरुवा तथा किटजन्य रोगविरुद्ध जनस्तरमा सचेतना अभिवृद्धि गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।