उदयपुर, चैत १७ । उदयपुरमा ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको छ । जिल्लाको बेलका नगरपालिका वडा नम्बर ६ असारे मूर्तिखोला किनारामा ८ सय ९१ किलो ४ सय २३ ग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेवारिसे अवस्थामा रहेको गाँजा मूर्तिखोला किनारामा लुकाएर राखिएको थियो । जिप्रका र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीला (बेलका)बाट खटिएको संयुक्त ५ जनाको गस्ती टोलिसँग सशस्त्र प्रहर िबल नेपाल वेशक्याम्प डुंडखोलाबाट पनि थप ५ जना सुरक्षाकर्मी खटिएका थिए ।
घटनास्थलबाट बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रामपुरमा राखिएको छ । यसबारे प्रहरीले सूक्ष्म अनुसन्धान थालेको जनाएको छ । पक्राउ गरिएको लागुऔषध कसले कता लैजादै गरेको हो भन्ने खुल्न नसकेको प्रहरीको भनाई छ । सो ठाउँ इप्रका रामपुरबाट ५ किलोमिटर पश्चिम दूरीमा अवस्थित रहेको छ ।
यसअघि मात्र उदयपुरको कटारी, त्रियुगा, चौदण्डीगढी नगरपालिबाट गरी करिब आधादर्जनबढी सेवन तथा कारोवारीमा संलग्न युवाहरु पक्राउ गरेको छ । पछिल्लो समय उदयपुरमा लागुऔषध कारोवार गर्ने र सेवनकर्ताको संख्या ह्वात्त बढेर गएको सरोकारवाला बताउछन् । प्रहरीले पनि न्यूनीकरणका लागि सक्रिय रुपमा अभियान र विशेष अपरेशन संचालन गर्दै आएको बताउदै आएको छ ।