उदयपुर – त्रियुगा नगरपालिका वडा नं. ५, भलुवाईमा जन्मिएकी राष्ट्रिय महिला फुटबल टिमकी सदस्य अमिशा कार्कीलाई वडा कार्यालयले सम्मान गरेको छ। साफ ओमेन्स च्याम्पियनसिप २०२४ को फाइनलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै कार्कीलाई नगद १० हजारसहित सम्मान गरिएको हो। राष्ट्रिय महिला फुटबल सिनियर टिमबाट जर्सी नम्बर १९ लगाएर खेल्ने कार्कीले फाइनलमा बंगलादेशविरुद्ध गोल गरेकी थिइन्। यद्यपि, पहिलो गोल प्रयास गोलपोस्टको बारमा लागेर फर्किएको कारण नेपाल उपविजेतामै सीमित रहनुपरेको थियो। खेलाडी सम्मान कार्यक्रममा स्थानीय प्रदीप अधिकारीले मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा वडा अध्यक्ष उद्धवकुमार थापाले, “यस प्रकारको सम्मानले खेलाडीहरूको मनोबल उच्च राख्न मद्दत पुर्याउँछ र स्थानीय स्तरका खेलाडीहरूलाई थप हौसला दिन्छ,” भन्दै आगामी दिनमा खेलकुदलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। सम्मान कार्यक्रममा वडा सदस्य, स्थानीय राजनीतिक दलका प्रतिनिधि, जिल्ला फुटबल संघका प्रतिनिधि , नगर अस्पताल देउरीका प्रतिनिधि, पूर्व खेलाडी, पत्रकार, समाजसेवी, बिद्यार्थी, र स्थानीय खेल प्रेमिहरुको उपस्थिति रहेको थियो।