Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु हुँदैन् ः राष्ट्रपतिपौडेल

  • उपहार न्यूज
  • शनिबार, कार्तिक २४ २०८१
मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु हुँदैन् ः राष्ट्रपतिपौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासनप्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणेशमान सिंह तथा जन आन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा शनिबार काठमाडौँमा आयोजित गणेशमान सिंह ११० औँ जन्म जयन्ती तथा अभिनन्दन कार्यक्रमलाई संवोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
‘मानवजीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शाश्वत हुन्छ । स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक पनि हो’, उनले भने, ‘लोकतन्त्रको यही आलोकलाई अंगिकार गर्दै हामीले अपनाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासनप्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नुहुँदैन ।’मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने अनि यो कुरा यही व्यवस्थामै संभव छ भनेर जनतालाई भरोसा जगाउन सक्नु नै अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।‘त्यसको लागि मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी छ, अवसरबाट वञ्चित, गरीब र पिछडीएका जनताको आवाज र असन्तुष्टि सुनी उनीहरूलाई केन्द्रमा राखेर सरकारका नीति एवम कार्यक्रम तय गरी लागू हुनुपर्दछ, सुशासन र विकास त्यसको आधार हो भने मलाई लाग्दछ’,राष्ट्रपति पौडेलले भने ।
उनले गणेशमानजीले भनेजस्तो सत्ता चलेको भए आज देखिएका विकृति र विसंगति वेहोर्नुपर्ने थिएन भन्दै तथापि वीपी, गणेशमानले भन्दै आएको निचोडकै रूपमा वर्तमान संविधान प्राप्त गरेको पनि बताए । राष्ट्रपति पौडेलले वीपीले गणेशमानका बारेमा भन्ने गरेको कुरा स्मरण गर्दै भने,‘गणेशमानजी साहसी वीर र संघर्षशील त हुनुहुन्थ्यो नै, भविष्य द्रष्टा पनि हुनुहुन्थ्यो ।’नेपालमा लोकतन्त्र स्थापना र पुनस्थापनामा गणेशमान सिंहको योगदान उच्च रहेको उनले बताए । ‘दृढ विचार, साहस र त्याग सिंहको समग्र व्यक्तित्वको सार हो, लोकतान्त्रिक सिद्वान्त, मूल्य मान्यता र निष्ठालाई आफ्नो जीवनशैली मान्नुहुने उहाँले यसको मूल्यमा कहिल्यै कुनै सौदावाजी गर्नुभएन, सिंहको त्यही सद्गुणनै लोकतन्त्रप्रेमीहरूको लागि आज पनि उत्तिकै प्रेरणापुञ्ज हो भन्ने मलाई लाग्दछ’, राष्ट्रपति पौडेलले भने । उनले पद पाउन पद्धति मिच्ने र आफ्नो स्वार्थपूर्ति गर्न लोकतन्त्रको आधारभूत मूल्य मान्यता कुल्चने प्रवृत्ति लोकतन्त्रको लागि हितकार हुन नसक्ने बताए ।सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र स्वतन्त्रताका पक्षमा महत्वपूर्ण योगदान गर्दै मानवअधिकारवादी नेता कपिल श्रेष्ठलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरेका हुन् ।

Last updated:2024 Nov 09 Saturday 09:44:26

प्रतिक्रिया
सम्बन्धित समाचार