देबराज राई
उदयपुर, असोज १४ ।
त्रियुगा नगरपालिका ११ हिमालीटोलमा रहेको कटुवाल मासु पसल बुधबार ग्राहकहरुको घुईचो थियो । भीडभाडकै बीच एक टोली आएर सोधपुछ गर्न थाल्यो । त्यसपछि थाहा भयो कि सोही पसलका सञ्चालक सीताराम कटुवालले प्रति २ किलो मासु बिक्री गर्दा २५ ग्राम फाईदा लिने रहेछन् ।
सीताराम कटुवालबाट २ केजी खसीको मासु किन्दा ग्राहक २५ ग्राम ठगिने गरेको नमूना मात्र हो । त्यसोत सोही ठाउँ नजिककै रहको श्रेष्ठ फ्रेस हाउसमा अनुगमन टोली पुग्दा पनि १ किलो तौलको ढक चेकजाँच गर्दा १० ग्राम कमी भेटियो ।
माथि उल्लेखित दुई घटना गाईघाटका लागि नमूना मात्र हुन् । चाँडबाडको मौका छोपेर व्यापारीहरुबाट आफु ठगिएको सर्वसाधरणले गुनासो गर्नेक्रम बढेसँगै स्थानीय सरकारले थालेको बजार अनुगमनले तीब्रता पाएपछि पछिल्लो समय व्यापारिक कर्तुतहरु पोखिन थालेका हुन् । यसरी अनुगमनको क्रममा भेटिएका ढक र तराजुहरु बरामद गरीएको त्रियुगा नगरपालिकाका योजना तथा अनुगमन अधिकृत दिनेश शिवाकोटीले जानकारी दिए ।
अनुगमनमा बरामद अखाद्यबस्तु नष्ट गरियो
त्रियुगा नगर क्षेत्रका बजारमा चाँडबाड नजिकिएसँगै हुनसक्ने अप्राकृतिक कारोवार, कालाबजारी, मिलेमतोजस्ता कार्यलाई न्यूनीकरणका लागि विशेष अभियान सञ्चालनमा आएको छ । बुधबार त्रिनपाको वडा नम्बर ११, १२ र १३ अन्तर्गतका बिभिन्न बजार क्षेत्रमा अनुगमन गरी ठूलो मात्रामा अखाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
१३ नं. वडाको तरकारी बजार क्षेत्र, १२ नं वडा पेट्रोलपम्प साईड क्षेत्र र ११ नम्बरमा अवस्थित मासु पसल र दूग्ध डेरीहरु अुनगमन गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुरका प्रमुख रमेश दाहालले बताए । सो क्रममा तीन वटै वडाबाट ५० भन्दा बढी बिभिन्न पसल अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा बरामद गरिएको सुपाडी १ बोरा, छोक्डा १ बोरा, प्याकेट र बट्टामा राखिएको मसला १ बोरा, मैधा ३ बोरा, सूर्ति १ बोरा, तेल २ ग्यालेन ६ प्याकेट, बेसन १८ प्याकेट, पापड ६ प्याकेड तथा फ्रुटीलगायतका पेयपदार्थसमेत त्रियुगा नदी किनारामा बुधबारै नष्ट गरिएको हो । नष्ट गरिएका अखाद्य सामग्री ५० हजार बढीको बजार मूल्य रहेको अधिकृत शिवाकोटीको भनाई छ ।
टोलीमा त्रियुगा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, नगर प्रहरी, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, त्रियुगा उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ प्रतिनिधिहरुको पनि सहभागीता रहको थियो ।
कम तौलको ढक राखेर ग्राहक ठग्ने मासु व्यापारी र अखाद्य सामग्री बिक्री गर्ने व्यापारीहरुलाई सचेत गराएर छाडीएको अधिकृत शिवाकोटीले जानकारी दिए । अर्को पटक पनि ठगी र अखाद्य बस्तु पाइए स्थानीय सरकार सञ्चालन ऐन २०७४ र उपभोक्ता संरक्षण ऐन २०७५ अन्तर्गत २० हजारसम्म जरिवाना वा व्यवसायनै बन्द गराउने गरी कारवाही गरिने कानुनी प्राबधान रहेको छ ।
