उदयपुर, कात्तिक ६ ।
उदयपुरका बाढी पीडितहरुलाई युके बस्दै आएका नेपालीहरुबाट आर्थिक सहयोग प्राप्त भएको छ । गत असोज १० गतेदेखि आएको अविरल वर्षाका कारण गाँस, बास र कपाससमेत गुमाएका पीडित परिवारहरुलाई राज्यको सम्बन्धित निकायले लामो समयसम्म पनि ठोस उद्धारको पहल नगरेपछि नागरिकस्तरबाटै सहयोग संकलन गरी हस्तान्तरण गरिएको हो ।
असोज १०, ११ र १२ गते लगातारको वर्षापछि सुनकोशी नदिको बहावले चौदण्डीगढी नगरपालिका वडा नम्बर १ बंशिलामा १० परिवार घरबार बिहीन बनेका थिए । बंशिलाका बाढी पीडित १० घरपरिवारलाई युकेबासी उर्मिला राई ‘प्रेरणा’को पहलमा संकलित १ लाख १७ हजार ९ सय ८६ रुपैयाँ हस्तान्तरण गरिएको स्थानीय छुईला टोल विकास संस्थाका अध्यक्ष सन्तोष राईले जानकारी दिनुभयो ।
युकेबासी बिनोद पुमा राई, पदम तामाङ, सकुन्तला राई, प्रेम राई, प्रेरणा राई, रोशन श्रेष्ठ , निलु गर्बुजा, राम मगर, कुश्मान गुरुङ, हेमा गुरुङ, खड्ग लाबुङ, सुजा लाबुङ, गजेन्द्र राई, कुमारी राई, सम्झना लिम्बू, शक्तिमाया गुरुङ, मकन गुरुङ, पवित्रा गुरुङलगायतले राहत संकलन अभियानमा साथ दिएको पहलकर्ता राईले बताउनुभयो । बाढीले घर बगाएपछि खुल्ला आकासमुनी बस्नुपर्ने अवस्थामा पनि सरकारले पर्याप्त राहतको व्यवस्था गर्न नसकेको पीडित शान्ता राईको गुनासो छ ।