शंकर रिखाम मगर
उदयपुर, असोज १९ ।
उदयपुरको रौतामाई गाउँपालिका- ६ लाई बालमैत्री वडा घोषणाका लागि संयुक्त अनुगमन सम्पन्न भएको छ । जिल्ला समन्वय समिती उदयपुरका समन्वय अधिकारी गजेन्द्रनाथ शर्मा, शाखा प्रमुख सृजना क्षेत्री र दिपक पोखरेल रौतामाइ गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष वीरेन्द्रकुमार आले, उपाध्यक्ष भुपिन्द्रबहादुर थापा, वल्र्डभिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक आनन्द खड्का, जाल्पा एकीकृत बिकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेल, हुरेण्डेक उदयपुरका प्रमुख सल्लाहकार दुर्गा थापा (स्वती) र पत्रकारसहितको टोलीले अनुगमन गरेको हो ।
वडाबालमैत्री घोषणाका लागि आवश्यक सूचकहरुको अनुगमन गर्ने क्रममा विद्यालयको आवश्यक पूर्वधार र प्रारम्भिक बालविकास केन्द्रको अनुगमन गरिएको थियो । बाल बचाऊ तर्फ १४, बालसंरक्षण तर्फ १०, बालविकास तर्फ ६, बालसहभागिता तर्फ ६ र संस्थागत विकासका तर्फ १५ गरी जम्मा ५१ सूचक पूरा गर्नु पर्ने सुचकहरुमा ९९ प्रतिशत सुचक पूरा भएको टोलीले ठहर गरेको छ । जसका लागि दशै-तिहार लगतै रौतामाइ गाउँपालिकाको चौथौ बालमैत्री वडा घोषणा गर्न सकिने अनुगमनको क्रममा जिसस समन्वय अधिकारी शर्माले सुझाव दिएका थिए ।
अनुगमनको क्रममा बालबालिकाहरुको चौथर्फि बिकास गर्नको निम्ति बालमैत्री घोषणा गर्न र समुदयलगायत सम्बन्धित निकायहरुमा व्यवहारिकतामा समेत परिबर्तनको लागि आवश्यक प्रबिधिक सहयोग र केही बजेट व्यवस्थापन गर्न सकिने वल्र्डभिजन इन्टरनेशनल नेपाल उदयपुरका संयोजक आनन्द खड्काले बताए ।
नेपाल सरकारको नीति तथा उद्देश्य नेपाललाइ बालमैत्री घोषणा गर्ने लक्ष्य भए पनि सहयोगी संघ संस्था नभए स्थानीय तहलाइ मात्र घोषणा गर्न कठिनाइ हुने पालिका अध्यक्ष वीरेन्द्रकुमार आले बताउदै बालबालिकाहरुको लागि योजना सहितको कार्यक्रमहरु समाबेश गर्दै बजेटको व्यवस्था गर्नको लागि जस्तोसुकै समय र परिस्थितिमा पनि कार्यपालिका बैठक बस्न सक्ने र जस्तोसुकै प्रकृया तथा बजेटको व्यवस्था गर्न सकिने पालिका अध्यक्ष आलेले बताए ।
पूर्व तयारी र तयारी चरण पूरा भएको र घोषणा चरणको समय अगाडि सम्पूणर् क्रियाकलाप सम्पन्न गरी कागजी प्रकृया पूरा गर्दै सम्बन्धित निकायहरुमा खबर गरी बालमैत्री वडा घोषणा गर्ने वडा बालअधिकार समितिका अध्यक्ष पृथ्वीराज राइले बताउदै घोषणापछि बालबालिकाहरुको दिगोपना तथा नीतिगत तथा कार्यन्वयनका चरणहरु पूरा गर्दै जाने अध्यक्ष राइको भनाई छ ।