उदयपुर, असोज ८ ।
उदयपुरमा हिन्दू नेपालीको महान चाँड दशैंको अवसर पारेर भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको त्रियुगा नगरपालिका १५ नम्बर वडा कार्यालय र स्थानीय जनकल्याण सामुदायिक बन उपभोक्ता समूहको आयोजनामा तीन दिवसीय वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।
प्रथम विजेताले नगद ६६ हजार ६ सय ६६ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता असोज २१ देखि २३ गतेसम्म संचालन हुने आयोजक समितिका सम्पर्क व्यक्ति केवल मगरले जानकारी दिए । नकआउट प्रणालीबाट खेलाईने भलिबल प्रतियोगितामा सहभागी टिमले अनिवार्य पोषाक लगाउनुपर्ने नियम उल्लेख गरिएको छ ।
त्यस्तै दोस्रो हुनेले ३३ हजार ३ सय ३३ र तेस्रो स्थान हासिल गर्ने टिमका लागि भने ११ हजार १ सय ११ रुपैयाँ नगद र शिल्ड, मेडल, प्रमाणपत्र व्यवस्था गरिएको आयोजक समितिकै पवन बस्नेतको भनाई छ । खेलमा सहभागी हुन चाहने टिमले असोज २० गते बेलुका ७ बजेभित्र दर्ता गराईसक्नुपर्ने बताइएको छ ।
खान र बस्न खेलाडी आफैले गर्नुपर्ने, खेलाडीको परिचय खुल्ने आधिकारिक कागजपत्र अनिवार्य, बसाईसराई भएको भए ६ महिनाअघि बसाई सरी आएको कागजात पेश गर्नुपर्ने लगायतको नियम आयोजकले सार्वजनिक गरेको छ । त्रिनपा १५ खाँबु कुभिण्डे खेलमैदानमा हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले दुई हजार पाँच सय नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सदस्य हेमन्त मगरले जानकारी दिए ।
टिम दर्ता शूल्क ३ हजार ३ सय ३३ तोकिएको खेलका उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट कोचले समेत नगद पुरस्कार र मेडल प्रमाणपत्रको व्यवस्था रहेको आयोजक समितिका अध्यक्ष इन्द्रबहादुर मगरले बताए ।