उपहार न्यूज
उदयपुर भाद्र १०
उदयपुरको रौतामाई गाउँपालिकाको कर्मचारीहरुलाई शुक्रबार पालिका केन्द्रबाट छुट्टि भएर घर फर्कने क्रममा आक्रमण गर्ने समुहलाई कारवाहिको माग गरिएको छ । रौतामाई गाउँपालिकाबाट कार्यालयको काम सकेर शुक्रबार घर फर्कने क्रममा वेलुका ५ः३० बजेको समयमा कार्यालयका कर्मचारी कौशल कार्की र धनसरी परियार चढेको सरकारी मोटरसाईकल त्रियुगा नगरपालिका ९ झिल्के टोल घुम्ती देखि पिछा गर्दै त्रियुगा आँखा अस्पताल नजिक एक्कासी आक्रमण गर्नुका साथै कर्मचारीहरु हिमाल दनुवार, भेषराज पराजुली, सिता कुमारी रानामगर, प्रतिष्ठा राई, केशव मगर र मनोज कुमार दाहाललाई समेत दुव्र्यवहार गरेको घटना प्रति कर्मचारी संबद्ध विभिन्न संघ संगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै विरोध जनाएका छन् ।
सरकारी सवारी साधनको दुरुपयोग भएको भन्दै रौतामाई गाउँपालिका २ डाङसिटार निवासी नारायण बहादुर दाहाल र रौतामाई ७ बस्ने सुजन दाहाल लगायत १० जनाको समुहले कर्मचारीको गाडि रोकेका थिए ।
उनीहरुले गुण्डागर्दी शैलीमा आएर महिला कर्मचारीहरुलाई अपशब्द बोल्ने, ठेलठाल गर्ने समेत गरी कर्मचारीहरुको जिउ ज्यान माथि खतरा उत्पन्न भएको भन्दै राष्ट्रिय स्तरका कर्मचारी ट्रेड युनियनहरुले ध्यानकर्षण सहित घटनामा संलग्नहरुलाई तत्काल कार्वाहीको माग गरेका छन् ।
नेपाल निजामती कर्मचारी संगठन उदयपुर, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन, एकिकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी संघ र स्थानिय तह कर्मचारी युनियनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै घटनामा संलग्नहरुलाई कारवाहिको माग गरेको हो ।
यता घटनामा पिडित भएको भन्दै रौतामाई गाउँपालिका उदयपुरका कर्मचारीहरु धनसरी परियार, कौशल कार्की, प्रतिष्ठा राई, भेष्राज पराजुली, हिमाल दनुवार, मनोज कुमार दाहाल, केशव कुमार मगर र सिता रानाले जिल्ला प्रशासन कार्यालय उदयपुरमा शान्ति सुरक्षाको माग सहित कारवाहिको माग राख्दै निवेदन दिएका छन् ।
घटना सार्वजनिक भए पछि शुक्रबारनै रौतामाई गाउपालिकाको कर्मचारीहरुले घटनाको विरोध जनाएका थिए । यता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले कर्मचारीहरु कार्यालयको काम सकेर शुक्रबार घर हिडेको र उक्त घटना भएको आफुले जानकारी पाएको बताए ।
अधिकृत श्रेष्ठले कार्यालयको काम सकेर घर जादा कुनै पनि हिसाबले सरकारी सवारी साधनको दुरुपयोग नहुने बताए । सवारी मर्मतको लागी, इन्धन हाल्नको लागि गाईघाट जानु पर्ने बाध्यता छ कतिपय कर्मचारीहरुको घर पालिका बाहिर छ, अब कर्मचारीले घरै जान नहुने भयो त राज्यले दिएको सवारी साधनको प्रयोग गर्दा कसरी दुरुपयोग भयो त श्रेष्ठले उपहार संगको कुराकानीमा भने ।
यदि कर्मचारी जनप्रतिनिधिबाट सरकारी सवारी साधनको साच्चै दुरुपयोगनै भएको भए पनि कारवाहि गर्ने निकाय होला, विधि प्रक्रिया होला त्यसमा सहयोग गर्न हामी तयार छौ तर कर्मचारीको मानमर्दन गर्न नपाईने कर्मचारी बताउछन् ।
यता घटनामा संलग्न युवाहरुले समेत प्रेस विज्ञप्ती जारी गर्दै आफुहरुले पालिकामा शुसासन कायम गराउनको लागि सवारी साधनको दुरुपयोग रोक्न साथै इन्धनमा हुने गरेको अनियमितता रोक्ने अभियानमा लागि परेको बताएका छन् ।




