किरणप्रसाद ढुंगाना-
उदयपुर, साउन १८ ।
उदयपुर सिमेन्ट उधोगबाट सेवा निवृत्त मजदुर कर्मचारीहरुले सेवा निवृत्त पछि पाउने सुबिधा वापतको रकम नपाएको भन्दै उद्योगको मुलगेटमा प्रदर्शन गरेका छन् । जिल्लाको त्रियुगा नगरपालिका जलजलेस्थित सिमेन्ट उद्योगको कार्यालय प्रवेशद्धार अगाडि उनीहरुले कालो झन्डा र ब्यानर टाँगेर उद्योग प्रशासनलाई ध्यानाकर्षण गराएका हुन् ।
सेवा निवृत्तपछि पाउनु पर्ने बीमा, संचयकोष, नागरिकलगानी कोष, संचित बिदाको रकमलगायतका सुबिधा नपाएको भन्दै सेवा निबृत्त कर्मचारी ४५ दिनयता सेवानिबृत्त पीडित मजदुर कर्मचारी संघर्ष समितिले संघर्षका कार्यक्रम गर्दै आएको छ । यसअघि संघर्ष समितिले उद्योग समक्ष आफ्ना माग पत्र पेस गर्ने, माग पूरा गर्न १ महिनाको अल्टिमेटम दिनेजस्ता कार्यक्रम गरेको थियो ।
१ महिना समय दिदा पनि आफ्ना जायज मागहरु पूरा नभएपछि थप संघर्षका कार्यक्रम गरिएको संघर्ष समितिका सदस्य कुबेरकान्त काफ्लेले बताए । समितिका केही पदाधिकारी उद्योग मन्त्रालयमा डेलिकेशनमा गएकाले काठमाडौंबाट फर्किएपछि थप चरणबद्ध बिरोध कार्यक्रम घोषणा गरिने पनि काफ्लेले जानकारी दिए ।
उद्योग नियमित संचालन नहुदा रकमको अभावमा उधोगले कर्मचारीले पाउनु पर्ने बीमा, संचयकोष, नागरिकलगानी कोष, सन्चित बिदा, औषधीउपचार बापतको रकम दिन नसकिएको उद्योग प्रशासनको भनाई छ । सेवा अवधि पूरा भएपछि पाउनुपर्ने तोकिएका सेवासुबिधा पाउनुपर्ने माग गर्दै पूर्वकर्मचारीहरुले लामो समयदेखि बिभिन्न चरणमा आन्दोलित हुँदै आएका छन् ।