उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा रहेका मुस्लिम सस्लिम समुदाय लक्षित स्वास्थ्य र शिक्षासम्बन्धी नगरस्तरीय नगरस्तरीय अभिमुखीकरण सम्पन्न भएको छ । त्रियुगा नगरपालिकाको आर्थिक सहयोगमा मुलधार सेवा केन्द्र (मासवेस) उदयपुरले अभिमुखीकरण सम्पन्न गरेको हो ।
मदरसा इस्लामिया दारुल कुरा जलजले ६ का प्रअ, मुस्तफा अलिले आफूहरुको खटाई अनुसार पारिश्रमिक ज्यादै न्यून भएको गुनासो गरेका थिए । उनले राज्यबाट श्रमको उचित मूल्यांकन हुनुपर्ने समेत सुझाव दिएका थिए । मदरसाबाट अध्ययन गरी शिक्षा हासिल गरेका शैक्षिक प्रमाणपत्रहरु थुपै भएपनि रोजगार पाउन मुस्किल रहेको प्रअ मुस्तफाको भनाई छ । त्यस्तै शिक्षिका पवित्रा खातुनले मुस्लीम समुदायमा रहेका छोरीहरुका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने बताइन् ।
मदरसा तालेमुल ईस्लाम भुल्के ३ की अभिभावक ठकनी खातुन राज्यले आफूहरुलाई सेवा सुबिधाबाट बञ्चीत गरेको र शिक्षामा वेवास्ता गरेको । खेलमैदान र घेराबेरा आवश्यक रहेको छ । त्यस्तै नेपाल मुस्लिम संघकी उदयपुर सहकोषाध्यक्ष हसिना खातुनले मदरसामा आर्जन हुने शिक्षा गन्तव्यहिन देखिएको गुनासो गरेकी थिइन् । मदरसाबाट प्राप्त हुने शिक्षा जीवनउपयोगी हुनुपर्नेमा हसिनाको जोड थियो । आगामी दिनमा स्थानीय सरकारले विशेष योजना ल्याउन उनले माग गरेकी थिइन् ।
मदरसा तजविदुल कुरान गाईघाट १२ का व्यवस्थापन समिति अध्यक्ष मोहम्मद किस्मत अलिले जिल्लाका सबै मदरसाहरुमा एकरुपता ल्याउनुपर्ने सुझाव दिएका छन् । अगुवाहरु मिलेर पाठ्यक्रममा व्यापक सुधार ल्याउन जरुरी रहेको बताए । त्यस्तै मदरसा शिक्षाको क्षेत्रमा समेत सुधार, मदरसाको लेखाजोखा र हरहिसाव पारदर्शी हुनुपर्ने समिति अध्यक्ष अलिको भनाई थियो । मदरसा मदिना जामियतुल कुरान त्रिनपा २ मोतियाहीका शिक्षक हसमत मिया मदरसाहरुमा ईस्लामित तालिम मात्र भएको तर सरकारले शिक्षा सम्बन्धी तालिम नदिएको गुनासो गरेका छन् ।
त्यसैगरी कार्यक्रममा त्रियुगा नगरपालिका सामाजिक विकास शाखा प्रमुख राजकुमार खड््काले सरकारले मुस्लिम आयोग गठन गरी विशेष योजना र सचेतनामूलक अभियान संचालन गर्नुपर्ने आवश्यकता औल्याएका थिए । स्थानीय सरकारले मुस्लिम समुदायको बृहतर विकासका लागि आवश्यक बजेट बिनियोजन गर्न नसक्नु मुख्य समस्या रहेको उनले बताए । ओसी एमसी केस म्यानेजर अम्बिका मगरले घरेलु हिंसा, महिला स्वास्थ्य र एकद्धारा संकट व्यवस्थापन प्रणालीबारे जानकारी गराउदै महिलाहरुमा हुने बिभिन्न समस्या लुकाएर राख्ने चलनले खतरानक रोगको सिकार हुनुपरेको बताइन् । पछिल्लो समय घरेलु हिंसा र स्वास्थ्य समस्यालगायतका विषयमा ओसीएमसीले गर्ने निशुल्क सेवाबारे जानकारी गराएकी थिइन् । त्यस्तै आफ्नो समुदायका हरेक व्यक्तिले जन्मदर्ता र बिवाहदर्ता लगायतका कागजी प्रक्रिया अत्यावश्यक रुपमा पूरा गर्नुपर्ने सुझाव दिएकी थिइन् । त्यस्तै स्थानीय कलाकार निशान ताम्रकारले पनि साहित्यमार्फत शिक्षासम्बन्धी चेतनामूलक प्रस्तुती दिएका थिए ।
त्रियुगा शिक्षा शाखा प्रमुख शिवकुमारी राउतले जिल्लाका मदरसाहरु प्राथमिक तहको मात्र रहेको र यसलाई तह बढुवा गर्न सके वार्षिक १० लाखसम्मको अनुदान र खाँजा तथा छात्राहरुका लागि स्यानिटरी प्याडसहित व्यवस्था हुने प्राबधान रहेको बताइन् । साथै मदरसाहरुलाई असार १५ भित्र इमिस सफ्टवेयरमा बिवरण भरेको आधारमा मात्र धार्मिक विद्यालयहरुलाई समेत राज्यले सुबिधा व्यवस्था गरेको बताइन् । मदरसाहरुले आलेप र मलेप गराउन कागजपत्रहरु व्यवस्थित राख्नुपर्ने राउतले जानकारी गराइन् ।
कार्यक्रमको सहजीकरण शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रिय सदस्य अजयकुमार साहले सहजीकरण गरेका थिए । सो क्रममा नेपालका अन्य जिल्लामा मदरसाका लागि ठुलठूला भवनहरु रहेको तर उदयपुरमा भने कमजोर व्यवस्थापन देखिएको बताए । त्यस्तै मदरसाहरुमा शौचालयलगायतको सुबिधा नहुनु कमजोरी रहेको औल्याएका थिए । साहद्धारा प्रस्तुत जानकारीका अनुसार ५५ प्रतिशत मदरसाको आफ्नै पक्की भवन रहेपनि कक्षा कोठाको अभाव देखिएको छ । अधिकांस मदरसा व्यवस्थित भवन अभावमा छाप्राहरुमा पढाई हुदै आएको छ । त्यस्तै ७६ प्रतिशत मदरसामा शौचलय र शुद्ध पिाउने पानी र प्राथमिक उपचारको समेत अभाव रहेको उल्लेख छ ।
त्यस्तै कार्यक्रम आयोजक संस्था मुलधार महिला सेवा केन्द्र (मासवेस)कि अध्यक्ष महिला अधिकारर्मी नजबुल खान (निलम)ले मदरसामा आम्दानी कम र खर्च बढी भएको उल्लेख गरिन् । उनले खेलमैदान, तालिमप्राप्त विषयगत शिक्षक अभाव, युवाहरुलाई सरकारी जागीर नभएको, शिक्षकका लागि विशेष तालिमको व्यवस्था हुनुपर्ने बताइन् । उनले मदरसा शिक्षा क्षेत्रको विकासका लागि उर्दु बोर्ड गठन गरी प्रभावकारी ढंगले अन्य सामुदायिक विद्यालय सरह राज्यले दिवाखाजा, स्यानेटरी प्याड तथा छोरीहरुका लागि विशेष छात्रबृत्तिलगायतको व्यवस्था गर्नुपर्ने सुझाव थियो ।
अध्यक्ष खानले हाल राज्यले मदरसाको क्षेत्रका केही सकारात्मक कामहरु समेत भएको बताइन् । निशुल्क मदरसा दर्ता, कार्यदल गठनलगायतका कामहरु सकारात्मक रहेपनि आवश्यक शिक्षक र गुरुकुल तथा मदरसा शिक्षालाई प्रभावकारी बनाउन सरकारले विशेष नीति बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएकी थिइन् । देशभर रहेका मदरसालाई एकीन तथ्यांक संकलन गरी नियमित अनुगमन र मूल्यांकन गरी व्यवस्थापकीय सुधार हुनुपर्ने अध्यक्ष खानको भनाई थियो ।
गाईघाटस्थित रत्ना रिसोर्टको सभाहलमा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिकाभित्र दर्ता भएका बिभिन्न ४ वटा मदरसालाई स्वास्थ्य तथा शैक्षिक सामग्री समेत बितरण गरिएको थियो ।