शंकर रिखाम मगर-
उदयपुर । उदयपुरका बालबालिकाहरुले रौतामाइ गाउँपालिकासहित विभिन्न वडाहरुमा बाल भेलाको क्रममा संकलित सामूहिक योजनाहरु पेश गरेका छन् । वल्र्डभिजन इन्टरनेशनल नेपाल र जाल्पा एकीकृत विकास समाज उदयपुरको आयोजनामा सन्चालित बालभेला कार्यक्रमबाट बालबालिकाहरुको आवश्यक अनुसारको विभिन्न योजनाहरु पेश गरेका हुन् ।
बालभेलामा बालबालिकाहरुको सवाल र समस्याहरु माथि छलफल गरी योजना पेश गरेको रौतामाइ गाउँपालिका स्तरिय बालसंजालका अध्यक्ष तेजनारायण श्रेष्ठले बताए । रौतामाइ गाउँपालिका वडा नम्वर,२ र ४ साथै लिम्चुङबुङ गाउँपालिका ५ मा पनि बालभेला सम्पन्न भएको छ ।
त्यसैगरी रौतामाइ गाउँपालिकामा पालिका स्तरिय बालसंजालको बाल भेलाले बनाएको योजना र पत्रसहित बाल संजालका अध्यक्ष श्रेष्ठलगायत सदस्यहरु रहेको टोलीले रौतामाइका प्रमुख प्रशासकिय अधिकृत लिला भक्त श्रेष्ठलाइ भेटेर आफ्ना योजनाहरु लिखित रुपमा हस्तान्तरण गरेको थियो ।
केही वडामा वडा स्तरिय बालसंजालका प्रतिनिधिहरुले आफ्ना योजनाहरु बुझाइ सकेका छन भने बाँकी वडाहरुमा वडा परिषदको समयमा बुझाउने तयारी भइरहेको महेन्द्र माध्यमिक विद्यालय पोखरी ४ का विद्यालय व्यावस्थापन समितिका अध्यक्ष प्रलादबहादुर खत्रीले जानकारी दिए ।