उदयपुर । उदयपुरको सुदूरभेग भनेर चिनिने ताप्ली गाउँपालिकाको- ५ नम्बर वडालाई ‘बालमैत्री’ घोषणा गरिएको छ । बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको पहलमा आधारभूत आवश्यकता र तोकिएका मापदण्डहरु पूरा भएपछि एक कार्यक्रमबीच औपचारिक रुपमै ‘बालमैत्री वडा’ घोषण गरिएको हो ।
वडा कार्यालय र वल्र्डभिजन इन्टरनेशनल नेपाल, जाल्पा एकीकृत विकास समाज, हुरेण्डेक उदयपुर र साहस नेपालसहितका बिभिन्न ४ गैरसंस्थाहरुले सो क्षेत्रमा लामो समयदेखि निरन्तर काम गर्दै आएका थिए । बालमैत्री घोषणाका लागि ५ बिधामा तोकिएका ५१ सूचाङ्क पूरा भएसँगै औपचारिकता दिइएको वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।
बालविकास, बाल सहभागिता, बाल संरक्षण, बाल बचाऊ र संस्थागत विकास गरी ५ बिधामा बिभाजन गरी मूल्याङ्कन गरिएको थियो । जसअन्तर्गत उदयपुरमा ताप्ली ५ सँगै बालमैत्री घोषणा हुने वडाको संख्या ५ पुगेको छ । यसअघि त्रियुगा नगरपालिका- १५, रौतामाई गाउँपालिका- २ र ४ उदयपुरगढी गाउँपालिकाको १ नम्बर वडा घोषित भइसकेका छन् ।
पालिका केन्द्र रुपाटारमा आयाजित कार्यक्रममा ताप्ली गापा प्रमुख ढुंगराज विक, उपाध्यक्ष धनामाया मगर, प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राई, वडा नम्बर- ५ का वडाध्यक्ष विष्णु श्रेष्ठ, ताप्ली गाउँपालिका शिक्षा प्रशासन शाखाबाट रेवती जोशी कोइराला, नेपाल पत्रकार महासंघ उदयपुरका सहसचिव देवराज राईलगायतको उपस्थिती रहेको थियो । त्यस्तै सहयोगी निकाय वल्र्डभिजन इन्टरनेशनल नेपालका प्रतिनिधि कृपराज जोशी, आनन्द खड्का, जाल्पा एकीकृत विकास समाजका उपाध्यक्ष केशवकुमार कार्की, सदस्य हरिबहादुर बस्नेत, हुरेण्डेक उदयपुरका शैलेन्द्रकुमार बजगाईं र साहस नेपालका बेलकुमार सुन्दासको पनि कार्यक्रममा सहभागिता थियो ।
ताप्ली ५ नम्बर वडा कार्यालयद्धारा आयोजित सो कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने अधिकांस सहभागीहरुले बालमैत्री वडा घोषणासँगै सरोकारवालामाथि जिम्मेवारी थपिएको टिप्पणी गरेका थिए । बालमैत्री घोषणा गरिएको वडाभित्र पूर्णता पाएका ५१ सूचाङ्कहरु खस्कीन नदिन स्थानीय सरकार र आम अभिवावक जिम्मेवार हुनुपर्ने बताएका थिए । घोषणापछिको प्रभावकारी कार्यन्वयन र निरन्तरताका लागि आफूहरु तयार रहेको प्रतिबद्धता जनाउदै सहभागीहरुले सामूहिक हस्ताक्षर समेत गरेका थिए ।
बालबालिका लक्षित बिभिन्न प्लेकार्डसहितको ¥यालीले रुपाटार बजार परिक्रमा गरी कार्यक्रमस्थलमा पुगेरपछि सुरु गरिएको थियो । वडालाई बालमैत्री घोषणा गर्न महत्वपूर्ण सहयोग गर्ने संघसंस्था तथा व्यक्तिलाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो भने बिभिन्न स्थानीय जातिहरुको सांस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिएको थियो ।
रौतामाई- ८ पनि घोषणाको तयारी
त्यस्तै जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर– ८ लाई पनि ‘बालमैत्री’ घोषणाका लागि तयारी अन्तिम चरणमा पुगेको छ । जहाँ तोकिएको ५ बिधामध्ये संस्थागत विकास बाहेक अन्य ४ पूरा भइसकेको वडाध्यक्ष घमानसिंह थापामगरले जानकारी दिए । वडाध्यक्ष थापामगरका अनुसार पूर्वतयारीको अवस्था बुझ्न असार ५ गते सामूहिक अनुगमन गरिनेछ । संघसंस्था, जिल्ला समन्वय समिति प्रतिनिधि, पत्रकार र वडा प्रतिनिधिको टोलीबाट अनुगमनपछि तोकिएका सूचांकित प्राबधान पूरा भएको देखिए घोषणाका लागि मिति तोकिने थापामगरको भनाई छ ।