उदयपुर, वैशाख २३ ।
पूर्व खेलाडी तथा राप्रपाका युवा नेता दिपक राई ‘दोर्पाली’को स्मृतिमा शनिबारदेखि जारी फुटबल प्रतियोगितामा फ्युजनसँग श्रीपुर पराजित भएको छ । साकेलाटोल खेलमैदानमा दोस्रो दिन आईतबार सम्पन्न खेलमा फ्यूजनले श्रीपुरलाई ६ गोल प्रहार गरेको हो ।
दोस्रो दिनकै अर्को खेलमा आयोजक साकेला समूह पनि विजयी बनेको छ । स्वर्णिम युवा क्लव जलजलेलाई २-१ गोलान्तरले हराउँदै आयोजक साकेलाले जित हात पारेको हो । साकेला र स्वर्णीमबीचको खेलमा जर्सि नम्बर- १० का दिवस श्रेष्ठले प्रहार गरेको २ गोल जितका लागि निर्णायक बनेको थियो ।
दिवसले मध्यान्तरअघि १ र पछि अर्को १ गोल थपेका थिए । पराजित स्वर्णीमको तर्फबाट जर्सी नम्बर- १४ का खेलाडी संजीव राईले प्रहार गरेको १ गोलले टिमलाई शून्य नतिजा सामना गर्नबाट बचाएको थियो ।
सोही दिन पहिलो चरणमा फ्यूजन र श्रीपुरबीचको खेलमा विजयी टिमको तर्फबाट जर्सि नम्बर- १२ का लक्कि राईले ह्याट्रीक गरेका थिए । लगत्तै जर्सि नम्बर- १३ का दिपक खपाङ्गीले २ गोल थप्दा गोल संख्या ५ पुगेको थियो । अन्त्यमा जर्सि नम्बर- १४ का सनम राईले पनि फ्युजनका लागि १ गोल जोडेपछि श्रीपुरबिरुद्ध नतिजा आधादर्जनमा परिणत भएको हो ।
पराजित टिम श्रीपुरको तर्फबाट भने जर्सि नम्बर- १६ का समिर तामाङ, जर्सि नम्बर- १० का सुमन कार्कीले १/१ गोल गरेका थिए । दोस्रो दिनको दुई खेलमा ह्याट्रीक गर्ने लक्की र आयोजक जिताउने दिवस म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको तेस्रो दिनको खेल साकेला युवा समूह (ए) र सगरमाथा फुटबल क्लव राजावासबीच दिउसो २ः०० बजे हुनेछ । दोस्रो खेल भने साकेला युवा समूह (वि) र इलाभेन स्टार एफसीबीच दिउँसो ४ः०० बजेदेखि प्रतिस्पर्धा हुनेछ ।