थबिन्द्र मगर
-ताप्ली, वैशाख ९ ।
उदयपुरमा आगलागी हुदा तीन घर पूर्ण रुपमा जलेर खरानी भएको छ । जिल्लाको पहाडी भेग ताप्ली गाउँपालिका वडा नम्बर– २ नारीमालामा आईतबार विहान आगलागी हुँदा स्थानीय यामबहादुर मगर, उत्रबहादुर मगर र अम्बिरबहादुर मगरको घर जलेर नष्ट भएको हो ।
वडाध्यक्ष छत्रबहादुर श्रेष्ठका अनुसार घरमा कोही नभएको बेला आगलागी भएको थियो । ‘आगलागीबाट तीन वटै घरहरु पूर्णरुपमा जलेका छन्, घरको सवै नगद, अन्नपात, कुखुरा, बाख्रा मरेका छन् ।’ वडाध्यक्ष श्रेष्ठले भने, ‘घरमा कोही नभएको बेला एक्कासी आगो सल्किएको रहेछ ।’
आगो लागेको थाहा पाएपछि ठूलो संख्यामा भेला भएका गाउँलेहरुले आगो नियन्त्रणमा लिएका थिए । खाना खाएर घरका मान्छेहरु घाँस काट्न तथा अन्य काममा घरबाहिर गएका थिए । घरमा कोही नभएका समयमा स्थानीय उत्रबहादुर मगरको गोठबाट आगो सल्कीएर सुरु भएको थियो । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईले आगलागी भएको पुष्टि गर्दै घटनास्थलमा प्रहरी चौकी रामपुर झिल्केबाट प्रहरी खटिएको जानकारी दिए ।
बिहान करिव साढे १० बजे घरका सबैजना खाना खाएर जंगल गएपछि सल्कीएको आगोले छत्रबहादुर मगरको घरमा रहेको नगद ११ हजार रुपैयाँ, बंगुर २ वटा, खुकुरा २० वटा, परेवा ४ जोर, बाख्रा ६, चादी १ तोला, लत्ताकपडा, अन्नपात र महत्वपूर्ण कागजात सबै जलेका छन् । त्यसैगरी अवीरबहादुर मगरको घरमा रहेको नगद १० हजार, सुन २ तोला, चादी २ तोला, कुखुरा ३० वटा, बाख्रा ३, खाद्यान्न र महत्त्वपूर्ण कागजात पूर्ण रुपमा खरानी भएको छ ।
त्यसैगरी यमबहादुर मगरको घर र बाख्राको गोठ जलेर नष्ट भएको स्थानीय खिलराज श्रेष्ठले जानकारी दिए । आगलागीको कारण भने पत्ता लागेको छैन । बिहानै सुख्खा मौसममा लागेको आगो हावा, हुरीका कारण चारैतिर फैलिदा नियन्त्रण ढिलाई भएपछि तीनै घर खरानी भएको स्थानीयले बताएका छन् । जिल्लाको पहाडी भेगमा पछिल्लो समय बन जंगलमा डढेलो र घर गोठमा आगलागीको घटना अत्यधिक बढेको छ ।