उदयपुर, चैत १० ।
देशको सबैभन्दा ठूलो कम्युनिष्ट दल नेकपा एमाले उदयपुरको ९औँ जिल्ला अधिवेशन चैत १३ देखि १४ गतेसम्म गाईघाटमा हुने भएको छ । शनिबार सदरमुकाम गाईघाट बजारमा पत्रकार सम्मेलन गरी आसन्न अधिवेशन र हालसम्मको तयारीबारे जानकारी गराइएको हो ।
पार्टीका जिल्ला अध्यक्ष परमेश्वर घिमिरेद्धारा पत्रकार भेटघाटमा सार्वजनिक तयारी प्रतिबेदन अनुसार अधिवेशन पार्टीका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले उद्घाटन गर्नेछन् । मोतिगडास्थित स्थानीय होटल इम्पायर इनको सभाहलमा हुने अधिवेशनमा जिल्लाभरबाट ६३२ प्रतिनिधिहरुको सहभागिता रहने उल्लेख छ ।
अधिवेशनका लागि १२ वटा बिभिन्न उपसमिति गठन गरिएको छ । जसको शनिबार नै समीक्षात्मक बैठकसमेत सकिएको अध्यक्ष घिमिरेले जानकारी दिए । केही ठाउँमा प्रतिनिधि छनोटको काम बाँकी नै रहेको र अनुपातको लगभग ९५ प्रतिशत छनोट कार्य पूरा भइसकेको सार्वजनिक पत्रमा उल्लेख गरिएको छ ।
प्रचारप्रसारका लागि सुनसरी–उदयपुर सीमाक्षेत्र कोशी पुलदेखि पश्चिम कटारी बजारसम्मको बिभिन्न ठाउँमा तुल व्यानरहरु राखिने जनाइएको छ । ९औँ जिल्ला अधिवेशनका लागि भने ‘गतिशिल संगठन क्रियाशील सदस्य, विकासको संवाहक र सामाजिक रुपान्तरणमा नेकपा एमाले’ भन्ने नारा तय भएको छ । पत्रकार सम्मेलनमामार्फत अधिवेशनका लागि तयार पारिएको आधिकारिक लोगोसमेत सहभागी नेताहरुले एकसाथ सार्वजनिक गरेका थिए । दुई दिनसम्म चल्ने अधिवेशन अवधिभर १५ लाख खर्च हुने आर्थिक उपसमितिले जनाएको छ । ६३२ जना प्रतिनिधिका लागि खाना, खाजा र होटलमा बासका लागि सो खर्च प्रक्षेपण गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
पत्रकार माझ बोल्दै पार्टी अध्यक्ष घिमिरेले आसन्न अधिवेशनले सर्वसम्मत रुपमै नेतृत्व चयन गर्नेमा दुईमत नभएको दाबी गरे । केन्द्रकै निर्देशन पूर्ण रुपमा पालना गर्दै सर्वसम्मत नतृत्व सबैको चाहना रहेको समेत बताए । यसका लागि हाल देखिएका नेतृत्व आकांक्षीहरुबीच पनि गम्भीर छलफल गरी एकताको अधिक प्रयास गरिनेछ ।
पार्टीले मिसन ८४ लाई लक्षित गरी अधिवेशनमा नेतृत्व चयन गर्ने घिमिरेको भनाई छ । उनले समानुपातिकतर्फ जिल्लामा एमाले पहिलो शक्तिको रुपमा रहेको बताउदै अवको १० वर्षपछि हुने उदयपुरको अवस्थाबारे छलफल हुने बताए । त्यस्तै अधिवेशनमा जिल्लामा क्रियाशिल राजनीतिज्ञहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको छ । जसअनुसार उदयपुरको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेताहरुलाई सम्मान गरिनेछ । घिमिरेले सार्वजनिक गरेको तयारी प्रतिबेदन अनुसार प्रत्येक गाउँपालिकाबाट तीन र नगरपालिकाबाट ५ जनाका दरले कम्युनिष्ट राजनीतिक अगुवाहरुलाई सम्मानित गरिने भएको छ ।
त्यस्तै अधिवेशनबाट छानिने नयाँ नेतृत्व पूर्ण समावेशीताको आधारमा हुने बताइएको छ । जसअनुसार युवाका लागि छुट्टै १५ प्रतिशत सुनिश्चित हुनेगरी जिल्ला कमिटिमा आबद्ध गराइने उल्लेख छ । यता पार्टी सचिव कालुमान लामाले भने २०८४ सालको निर्वाचनमा एकछत्र नेतृत्व लिने गरी योग्य नतृत्व चयन हुने दाबी गरे । प्रतिस्पर्धा या सर्वसम्मत जसरी नेतृत्व छनोट भए पनि पार्टी संगठनलाई क्षति नहुने गरी अगाडि बढ्ने लामाको भनाई छ । उनले आफ्नो नेतृत्वमा ७६ सदस्यीय अधिवेशन जनपरिचालन समिति सक्रिय रहेको बताए । पत्रकार सम्मेलनमा पार्टीकी केन्द्रय सदस्य अम्बिका थापा, प्रदेश कमिटि सल्लाहकार सदस्य बैकुण्ठ दाहाल, जिल्ला सचिव कालुमान लामा, त्रियुगा नपाकी उपमेयर महेश्वरी राईलगायतको उपस्थिती थियो ।
उपसमिति कसलाई के जिम्मेवारी ?
पार्टीको ९औँ जिल्ला अधिवेशन तयारी तीव्र देखिएको छ । ८ पालिका, ७५ वडा, सल्लाहकार कमिटी र २३ वटा जनसंगठनबाट प्रतिनिधि चयन भइसकेका छन् । अधिवेशन सफल बनाउन गठित उपसमिति अन्र्तगत राजनीतिक तथा आर्थिक प्रतिवेदन लेखन उपसमितिमा अध्यक्ष परमेश्वर घिमिरे रहेका छन् । त्यस्तै चार सदस्यीय आर्थिक उपसमितिमा उपसचिव भरतबहादुर थापा छानिएका छन् । प्रतिनिधि व्यवस्थापन उपसमितिमा उपसचिब टेकबहादुर राउत, प्रचारप्रसार उपसमितिमा भरत खड्कालाई संयोजक तोकिएको छ । खाद्यान्न तथा आवासको संयोजन जिम्मेवारी महेश रोकालाई दिइएको छ । स्वयंमसेवक परिचालमा मन्दिप राई, अतिथि सत्कार मणिकादेवी दुलाल, हल तथा मञ्च व्यवस्थापन शिव रेग्मी, स्वास्थ्य व्यवास्थापनका लागि महेश्वरी राई र यातायात व्यवस्थापनको जिम्मेवारी शशिकुमार राईलाई दिइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार