Upahar News शुक्रबार, कार्तिक २१ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुर सिमेन्ट उद्योगमा कार्यरत सेक्युरिटी गार्डहरु आन्दोलित, सम्झौता अनुसार सुबिधा नदिएको आरोप

  • उपहार न्यूज
  • शनिबार, चैत्र ३ २०८०
उदयपुर सिमेन्ट उद्योगमा कार्यरत सेक्युरिटी गार्डहरु आन्दोलित, सम्झौता अनुसार सुबिधा नदिएको आरोप

उदयपुर, चैत ३ ।
उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)मा कार्यरत सुरक्षा मजदुरहरु आन्दोलित भएका छन् । लामो समयदेखि आफूहरु कार्यरत रहेको डिलक्स सेक्यूरिटी सर्भिस प्राईभेट लिमिटेडले सम्झौता अनुसार सेवा सुबिधा उपलब्ध नगराएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उद्योगमा यसअघि पनि ५९ सुरक्षाकर्मी (सेक्यूरिटी गार्ड) तथा सुरक्षा सरसफाईकर्मी मजदुर कर्मचारीहरुले पाउनुपर्ने सेवा सुबिधा नपाएको गुनासो आएपछि उद्योगको प्रशासन, सेवाप्रदायक संस्था, मजदुर नेता र सरोकारवालाबीच माग पूरा गराउन लिखित सम्झौता भएको थियो । सोही सम्झौता अनुसार १५ दिनभित्र माग पूरा गराउने आस्वासन दिइएको थियो ।

सरोकारवाला सम्बन्धि सबै पक्ष बसेर गरिएको भद्र सम्झौता तोकिएकै समयमा कार्यन्वयन नभएकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको उसिउलिका सेक्यूरिटी इन्चार्ज सुरेन्द्र जर्घामगरले जानकारी दिए । तत्काल आफूहरुको माग पूरा नभए हदैसम्मको आन्दोलनका लागि पनि तयार रहेको सुरक्षा कर्मचारीहरुको भनाई छ ।

के थियो चार बुँदे सहमति ?
सुरक्षा मजदुरहरु आन्दोलित भएपछि सर्वपक्षिय सरोकारवालासहितको उपस्थितीमा चार बुँदे लिखित सम्झौता भएको थियो । सम्झौतापछि १५ दिनको अल्टिमेटमसहित मजदुरहरु पुनः काममा फर्किएका थिए । दुई हप्ताअघि भएको सहमतिमा उद्योग र सेक्यूरिटी कम्पनीसँगको सम्झौता भई कार्यरत ५९ सुरक्षा कर्मचारीहरुलाई २०८० भदौ ८ गतेदेखि लागु हुने गरी साप्ताहिक बिदा बापतको भुक्तानी पाउनुपर्ने दुई हजार १६६ रुपैयाँसहित भुक्तान गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै सुरक्षाकर्मीले हाल पाउदै आएको १४ हजार सात सय ४८ रुपैयाँमा साप्ताहिक बिदाको थप गरी १६ हजार ९१४ भुक्तान पर्नेुपर्ने, सुपरभाईजर र गार्ड इन्चार्जहरुले हाल पाउदै आएको १८ हजार ४४ रुपैयाँमा साप्ताहिक बिदाबापतको रकम दुई हजार १६६ जोडेर २१ हजार ६६ भुक्तान गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ । सम्झौताको बुँदा नम्बर २ मा विद्यमान श्रम ऐन अनुसार बृद्धि भएको मासिक पारिश्रमिक उद्योगमा कार्यरत ५९ कर्मचारीले सेवा प्रदायक संस्थाले उपलब्ध गराउने साथै सो रकम व्यवस्थापनका लागि सेवाप्रदायकले उसिउलिसँग समन्वय गर्नुपर्ने उपहारन्यूजलाई प्राप्त सम्झौतापत्रमा उल्लेख छ ।

यसैगरी सम्झौताको ३ नम्बर बुँदामा सुरक्षा मजदुरहरुलाई काम खटाउने सेक्यूरिटी कम्पनिले कर्मचारीहरुको सामाजिक सुरक्षा बापतको रकम हरेक महिनाको १५ गतेभित्र उपलब्ध गराउनुपर्ने बताइएको छ । सम्झौताको अन्तिम बुँदामा सेवा प्रदायक कम्पनिले हरेक महिनाको २५ गतेभित्र बैंकमार्फत भुक्तानी हुने गरी कर्मचारीलाई तलव दिनुपर्ने उल्लेख छ ।

१५ दिन अघिको सम्झौतापत्रमा डिलक्स सेक्यूरिटी सर्भिस प्रालिका तर्फबाट क्षेत्रीय प्रमुख रोशनप्रसाद दाहाल, अखिल नेपाल सेक्यूरिटी मजदुर संघ उदयपुरका जिल्ला अध्यक्ष बलबहादुर कटुवाल र अखिल नेपाल सेक्यूरिटी मजदुर संघ उदयपुरका जिल्ला उपाध्यक्ष युवराज कार्कीले हस्ताक्षर गरेका छन् । सो क्रममा उद्योग प्रशासन महाशाखा प्रमुख प्रथमलाल चौधरी, अखिल नेपाल ट्रेड युनियन महासंघ उदयपुरकी उपाध्यक्ष ज्ञानुमाया कुमारी, अखिल नेपाल औद्योगिक मजदुर संघ इकाई अध्यक्ष विशेश्वर पाल र उसिउलि सरोकारवाला नरबहादुर कार्कीको उपस्थिती थियो । त्रियुगा नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मानबहादुर राई र त्रिनपा कार्यपालिका सदस्य बिमल राईलगायतको रोहवरमा छलफलपछि सम्झौता भएको थियो ।

Last updated:2024 Mar 16 Saturday 13:23:14

प्रतिक्रिया
सम्बन्धित समाचार