उदयपुर । उदयपुरमा प्याराग्याईडिङ उडान भरेको एक टोली रुखमा झुण्डीएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १० चपनमाथिको रातेडाँडाबाट उडाइएको प्याराग्लाईडिङ अग्लो रुखको हाँगामा अल्झीएको हो ।
सोमबार त्रियुगा नगरपालिका ११ विशालनगर बस्ने २६ वर्षीय सिद्धान्त बस्नेतसहित पाईलटले प्याराग्लाईडिङ उडाएका थिए । तर, केही क्षणमै सरुवाको अग्लो रुखमा अल्झीएपछि खैलाबैला मच्चीएको थियो । प्याराग्लाईडिङमा सवार दुई जनाले रुखको हागामा समात्न पाएकाले अग्लो रुखबाट भुईमा बजारिनबाट भने जोगिएको थियो । घटनापछि प्रहरी र सर्वसाधरणले रुखका अड्कीएका दुवै जनालाई उद्धार गरेको थियो ।
घटनाबारे सम्बन्धित निकायबाट भने आधिकारिक धारणा सार्वजनिक भएको छैन । साहसिक खेलकै रुपमा लिइने प्याराग्लाईडिङले स्थानीय पर्यटनलाई टेवा पुग्ने भन्दै केही महिनाअघिदेखि सो ठाउँबाट उडान सुरु भएको थियो । खासगरी आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न भन्दै जिल्लाको त्रियुगा, चौदण्डीगढी, बेलका र कटारीमा प्याराग्लाइडिङ हुँदै आएको छ ।
बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनार, कटारी नगरपालिका– ७ को पर्यटकीय क्षेत्र मर्जितपुर, चौदण्डीको राँनीटार र त्रियुगा नगरपालिका– १० नवउदय सामुदायीक बन रातेडाँडाबाट उडान हुँदै आएको छ । हावापानी र मौसमले प्रभाव पार्ने प्याराग्लाइडिङ उदयपुरको त्रियुगास्थित रातेडाँडाबाटलाई अन्य तीन स्थानभन्दा कम जोखिम र दृश्यावलोकनका लागि उत्कृष्ट मानिएको थियो ।
जिल्लामा प्याराग्लाइडिङ व्यवसायिक र व्यवस्थित बनाउन फ्लाई कक्षासमेत केही महिनाअघि संचालन गरिएको िथयो । उदयपुरको चार ठाउँबाटै प्याराग्लाईडिङ उडानका लागि नागरिक उड्यन प्राधिकरणबाट समेत अनुमति प्राप्त भएपछि मात्र उडान सुरु भएको थियो ।