Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरसहित पूर्वको १४ जिल्ला पहिचानवादीले मनाए ‘कालोदिन’

  • उपहार न्यूज
  • बिहिबार, फाल्गुन १७ २०८०
उदयपुरसहित पूर्वको १४ जिल्ला पहिचानवादीले मनाए ‘कालोदिन’

उदयपुर । बिहीवार अर्थात फागुन १७ गतेलाई पूर्वको उदयपुरसहित बिभिन्न १४ जिल्लामा पहिचानबादीहरुले कालो दिनका रुपमा बिरोध गरी मनाएका छन् । अघिल्लो फागुन १७ गते तत्कालिन प्रदेश १ को नाम ‘कोशी’ नामाङ्करण भएको दिन स्मरण गर्दै बिरोध स्वरुप कालो दिनका रुपमा बिबिध प्रदर्शनसहित मनाएका हुन् ।

उदयपुर सदरमुकाम गाईघाट बजारमा पनि पहिचानबादीले बिरोध प्रदर्शनसहित कालोदिन स्मरण गरेका छन् । स्थानीय पिपलचोकमा बिहान १० बजेदेखि बिरोध कार्यक्रम सुरु गर्ने भनिएपछि करिब दिउँसो १ः०० बजेतिरमात्र पहिचानबादी सडकमा उत्रिएका थिए ।

पहिचानवादी नेता दीपक किराँती, किरण राई, यायोक्खा उदयपुरकी अध्यक्ष गंगा राई, राहुल यादवलगायतको नेतृत्वमा निस्किएको प्रदर्शनकारीले कोशी प्रदेश खारेजको माग राख्दै सदरमुकामको बिभिन्न चोक परिक्रमा गरेको थियो । कालो झण्डा, काला फेटा र मास्क धारण गरेका आन्दोलन सहभागीहरुले पहिचानको आधारमा प्रदेशको नाम पुन संशोधन हुनुपर्ने मागसहित नाराबाजी गरेका थिए ।

नगर परिक्रमापछि बिरोध ¥याली पिपलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सो क्रममा पहिचान पक्षधर नेताहरुले कोशी पुननामाङ्करणका लागि जस्तोसुकै आन्दोलन र त्याग गर्न तयार रहेको जिकिर गरेका थिए । प्रदेशको नाम पहिचानको आधारमा नराखी कौषिक ऋषिको नामबाट ‘कोशी’ राखिएको पहिचानवादीको ठहर छ । आन्दोलनरत पहिचान पक्षधरले १७ गते प्रदेशभर कालो दिनकोरुपमा स्मरण गर्दैै मनाएका छन् ।

प्रदेशअन्तर्गतका सबै जिल्ला र स्थानीय स्तरमा गठित पुनः नामाङ्करण संयुक्त संषर्घ समितिले कोशी नामविरुद्ध आमसभा, कोणसभा र बिभिन्न प्रकारका विरोध कार्यक्रमहरु आयोजना गरेको थियो । २०७९ फागुन १७ गते तत्कालिन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारले पहिचानवादीको माग सम्बोधन नगरी कोशी राखिएपछि पूर्वकोका जिल्लाहरु आन्दोलनमय बन्दै आएको छन् ।

आन्दोलनकै क्रममा लाजेहाङ भनिने पदम लिम्बूले ज्यान गुमाएपछि आन्दोलनकारी झन सशक्त संघर्षमा उत्रिएका थिए । पहिचानवादीहरुको आन्दोलनका कारण पछिल्लो समय प्रदेशका मन्त्री, सांसद र नेताहरु गाउँ जान सकस बन्दै आएको थियो । तर, पछिल्लो समय मुख्यमन्त्री केदार कार्की नेतृत्वको प्रदेश सरकारले पटक पटक गरी दुई चरणमा वार्ता गरेसँगै केही सहज हुन थालेको छ । प्रदेश सरकारले वार्ता र संशोधनका लागि देखाएको लचकता र आक्रामक आन्दोलनको प्रारुप परिवर्तन गर्ने सहमतिपछि अहिले प्रदेश मन्त्री र सांसदहरु गाउँ जाने वातावरण तयार भएको हो ।

Last updated:2024 Feb 29 Thursday 16:30:33

प्रतिक्रिया
सम्बन्धित समाचार