उदयपुर, फागुन १५ ।
नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई घोषणा गर्नुपर्ने माग गर्दै उदयपुरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समय इतिहास बंग्याएर सत्यनारायणको ठाउँमा कृष्णप्रसाद उपाध्याय भट्टराईको नाम समावेश हुँदै आएको घटना तत्काल सच्याउन मागसहित फोनिजले जिल्ला शाखामार्फत नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।
२००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएका थिए । तर, भट्टराईको नाम महासंघबाट प्रकाशित बिभिन्न प्रकाशनहरुमा देखिएपछि फोनिजले बिरोध गर्दै आएको छ । सोमबार नेपाल पत्रकार महासंघ शाखा उदयपुरको कार्यालयमा पुगेको फोनिज आबद्ध पत्रकारहरुको टोलीले अध्यक्ष भरत खड्कामार्फत केन्द्रमा ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै महासंघ उदयपुरका अध्यक्ष खड्काले तत्काल सो ज्ञापनपत्रबारे केन्द्रलाई जानकारी गराउने प्रतिबद्धता जनाए । उनले लामो समयदेखि संस्थापक अध्यक्षबारे भिन्न मत रहीआएको बताउदै बिज्ञ समिति गठन गरी प्रक्रियागत रुपमा छिनोफानो हुनुपर्ने राय राखेका थिए ।
‘पत्रकार महासंघको गलत इतिहास सच्याउन फोनिज लामो समयदेखि संघर्षरत रहेको सर्वविदितै छ’ फोनिज उदयपुरका अध्यक्ष इश्वर बलम्पाकी मगरद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘हप्तादिनभित्र नेपाल पत्रकार महासंघले गलत इतिहास सच्याउने काम नगरे केन्द्रसहित देशभर रहेको महासंघका कार्यालयहरुमा अनिश्चितकालिन् तालावन्दी गरिने जानकारी गराउदछौँ ।’
सत्यनारायण बहादुर श्रेष्ठ २००८ सालमा नेपाल टुडेको सम्पादक थिए । उनैको सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियो । यसकारण नेपाल पत्रकार संघका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्ने फोनिजले माग गर्दै आएको छ । उनै श्रेष्ठको सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रोसभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको थियो । यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो ।
यसको तीन वर्षपछि मात्र दोस्रो नेपाल पत्रकार संघको गठन भएको थियो । २०१२ साल चैत्र १६ गते पत्रकारहरुको बैठकबाट नेपाल पुकारका तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बनेका थिए । सत्यनारायणबहादुर श्रेष्ठ भन्दा चारवर्ष पछि मात्रै नेपाल पत्रकार संघको अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति भन्दै महासंघले आफ्नो प्रकाशनमा उल्लेख गरेपछि केही दिनअघि राजधानीमा आयोजित एक पुस्तक बिमोचन कार्यक्रममै च्यातिएको थियो । लगत्तै देशभर फोनिज आबद्ध पत्रकारहरु आन्दोलित हुँदै आएका छन् ।