उदयपुर, फागुन १३ ।
उदयपुरमा एकै दिशातर्फ जाँदै गरेको मालवाहक ट्रक ओभरटेक गर्नेक्रममा दुर्घटना हुँदा एक युवकको ज्यान गुमाएका छन् । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर- ८ झोडामा मोटरसाईकल दुर्घटना भई ३४ वर्षीय रन्तकुमार तामाङको मृत्यु भएको हो ।
उदयपुरगढी ६ नेपालटारका तामाङ घरबाट गाईघाट जाँदै गर्दा झोडामा दुर्घटनामा परेका थिए । उनलाई तत्काल उद्धार गरी बोक्सेस्थित उदयपुर जिल्ला अस्पताल लगिएको थियो । सोही अस्पतालमा उपचारकै क्रममा तामाङलाई डाक्टरले मृत घोषित गरेको थियो ।
मृतक रत्नकुमारको छाती, अनुहार र बाँया हातमा गहिरो चोट लागेको थियो । दुर्घटनाग्रस्त मोटरसाईकल पछाडी सवार रत्नको आफ्नै श्रीमति ३३ वर्षीया उर्मिला तामाङ पनि घाइते भएकी छन् । उनको दाहीने हातमा चोट लागेको छ ।
करिब बिहान साढे १०ः०० बजेतिर त्रियुगा ८ झोडामा को २८ प ७०८६ नम्बरको मोटरसाइकल ट्रकसँग ठोक्किएको थियो । सोही दिशातर्फ जाँदै गरको प्र १-०५-०१ क ००३५ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनास्थलबाट दुवै घाइतेलाई प्रहरीले जिल्ला अस्पताल गाईघाटमा पुर्याएको थियो । उपचारका क्रममा रत्नको राति ११ बजेतिर मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ । उर्मीला भने सामान्य उपचारपछि घर फर्किएकी छन् ।
दुर्घटनाग्रस्त मोटरसाइकल अस्थायी प्रहरी पोस्ट चुहाडेमा राखिएको छ । मोटरसाईकलसँग ठोकिने ट्रक र चालक त्रियुगा नगरपालिका ११ का ४० वर्षीय विनोदकुमार चौधरीलाई पक्राउ गरी कानुनी प्रक्रियाका लागि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पारिवारिक स्रोतका अनुसार रत्नकुमार नेपाल प्रहरीमा कार्यरत थिए । उनले वर्षदिन अघि मात्र जाँगीरबाट राजीनामा दिएर घरमै बस्दै आएका थिए । श्रीमति उर्मिला भने स्थानीय स्वास्थ्यकर्मी हुन् ।