उदयपुर, फागुन १२ ।
जंगली भालुको आक्रमणमा परी उदयपुरका दुई जना घाइते भएका छन् । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ सुन्दरपुरस्थित स्थानीय जंगलमा भालुले आक्रमण गर्दा ३५ वर्षीया रमिता चौधरी र ५५ वर्षीया सीता चौधरी घाइते भएका हुन् ।
रमिता र सीता एकै घरका सासू, बुहारी हुन् । घर नजिकैको बनमा घाँस काट्न गएको बेला भालुले आक्रमण गरेको स्थानीय भोलाप्रसाद फुयालले जानकारी दिए । गम्भीर घाइते हुने दुवैलाई सुन्दरपुर स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि उदयपुर जिल्ला अस्पताल पठाएको छ ।