पुष्प दनुवार –
उदयपुर, मंसिर ३० ।
उदयपुरमा कोशी प्रदेसस्तरीय सितोरियो कराँते प्रतियोगितामा सम्पन्न भएको छ । सदरमुकाम गाईघाटस्थित स्थानीय थरुहट रंगशालामा सम्पन्न प्रतियोगितामा सुनसरीले सर्वोत्कृष्ट उपाधिसहित प्रथम स्थान हासिल गरेको छ । त्यस्तै सिराहले दोस्रो र झापाले तेस्रो स्थान हासिल गरेको छ ।
महिलातर्फ सुनसरीका ५० केजी तोल समूहअन्तर्गत दीव्या तामाङले संखुवासभाकी दिलु राईलाई पराजित गर्दै उपाधि जितेकी हुन् । त्यस्तै सिराहकी प्राप्ती राई ५५ केजी तौल समूहअन्तर्गत सुनसरीकी जलीना जोगीलाई हराउदै प्रथम स्थान सुरक्षित गरेकी थिइन् । त्यस्तै ६१ केजी तौल समूहअन्तर्गत बिनिता पोखरेल प्रथम बनेकी छन् । सोही तौल समूहअन्तर्गत उदयपुर त्रियुगाकी जागृति राईले दोस्रो स्थान प्राप्त गरिन् । ६८ किलो समूहको प्रकृति डुम्जन झापाले सुनसरीकी मुना मगरलाई पराजित गर्दै प्रथम भईन् ।
त्यस्तै पुरुषतर्फ ३५ किलो तौल समूहअन्तर्गत झापाका इशाक राईले मोरङका उज्वल साहलाई हराउदै प्रथम बने । ४० किलो समूहअन्तर्गत मोरङका चन्द्रमगरले झापाका निकेश कार्कीलाई हराउदै प्रथम बनेका छन् । ४५ केजी तौल समूहअन्तर्गत सिराहका समिर सेरवले उदयपुर त्रियुगाका हिरज मगरलाई हराउदै प्रथम स्थान हासिल गर्न सफल भएको जिल्ला कराँते महासंघ उदयपुरका दिनेश खड्काले जानकारी दिए ।
५० केजी तौल समूहअन्तर्गत उदयपुर त्रियुगाका सुजन तामाङले झापाका समिर मगरलाई हराउदै प्रथम बनेका छन् । ५५ किलो तौल समूहअन्तर्गत सिराहका रितीक लामाले सुनसरीका प्रविण विष्टलाई हराउदै प्रथम बनेका छन् । ६० किलो तौल समूहन्तर्गत उदयपुर कटारीका ज्योतिहाङ राई सुनसरीका मनोज विश्वकर्मालाई हराउदै प्रथम बनेका छन् । यसैगरी ६७ केजी तौल समूहअन्तर्गत उदयपुर त्रियुगाका कृष्णकुमार महतोले झापाका अंकित लिम्बूलाई हराउदै प्रथम बनेका छन् ।
आयोजकसहित १० टिम सहभागी प्रतियोगितामा बिभिन्न तौल समूहमा १५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंसिर २९ देखि ३० गते दुईदिनसम्म सञ्चालन भएको प्रतियोगिता अवधिभर १० कोच, २५ रेफ्री सहभागीता जनाएको जिल्ला सितोरियो कराँते संघ उदयपुरका अध्यक्ष ध्रुव खड्काले जानकारी दिए ।