उपहार न्यूज
उदयपुर भाद्र १५
उदयपुरको चौदण्डिगढि नगरपालिका ९ का वडाध्यक्ष प्रकास कुमार राउत जिल्ला अदालत उदयपुरको फरार प्रतिवादीको सूचीमा रहेका रहस्य खुलेको छ । चौदण्डिगढि नगरपालिका वडा नम्बर ९ मा पूर्व नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका राउत जिल्ला अदालत उदयपुरले कैद जरीवाना तोकिएका फरार प्रतिवादीको सूचीमा रहेको जिल्ला अदालत उदयपुरका तहसीलदार कुलबहादुर खत्रीले जानकारी दिनु भयो । ।
राउतलाई प्रतिवादी बनाई साविकको हडिया गाविसको एक सामुदायीक वनमा वन पैदावर हानी नोक्सानी संबन्धि मुद्धामा २०७१ साल असार ४ गते जिल्ला अदालत उदयपुरमा दर्ता भएको थियो ।
गाईघाट इलाका वन कार्यालयका सहायक वन अधिकृत दिलिप कुमार चौधरी वादी भएर उनलाई वन पैदावर हानी नोक्सानी मुद्धा दायर गरेका थिए । तत्कालिन जिल्ला न्यायाधीश भोजराज शर्माको इजालसले २०७१ भाद्र २ गते उनलाई ११ दिन कैद र विगो १३ हजार पाँच सय ८४ रुपैया को दोब्बर २७ हजार एक सय ६८ रुपैया जरीवाना हुने फैसला गरेका थिए । वन मुद्धा परेका राउतलाई जिल्ला वन कार्यालय उदयपरले ९ दिन हिसारतमा राखेको र २१ हजार धरौटी राखि तारेखमा छुटेका वडाध्यक्ष राउतलाई अदालतले कैद सजाय तोकिएको ११ दिन मध्य ९ दिन हिरासतमा रहेको समेत गणना गरेर २ दिन कैद र विगो रकम ६ हजार एक सय ६६ रुपैया तोकेको थियो ।
अदालतले उनलाई २ दिन कैद सजाय र जरिवनाको फैसला सुनाए पनि सो फैसला हाल सम्म कार्यान्वयन हुन सकेको छैन । २०७३ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका उनी निर्वाचित जनप्रतिनिधि हुन् हाल सम्म उनले सो सजाय भुक्तान गरेका छैनन् ।
अदालतले कैद जरिवाना तोकेका राउत जनप्रतिनिधि निर्वाचनको लागि उम्मेदवार बन्न समेत अयोग्य रहदा रहदै पनि उम्मेदबार भएर जनप्रतिनिधि निर्वाचित राउत मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार अयोग्य रहेको कानुनविदहरु बताउछन् ।
मुुलुकी फौजदारी कार्यविधि संहिता को दफा १६० को उप दफा ५ अनुसार सजाय भुक्तान नभएको कारणले लगत कट्टा भएको व्यक्तिले त्यस्तो लगत ठेकिने गरी भएको फैसला बमोजिमको सजाय भुक्तान नगरेसम्म प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएता पनि निज कुनै पनि सार्वजनिक जवाफदेहिताको पदमा नियुक्ति वा मनोनित हुन तोकिन वा निर्वाचित हुन अयोग्य भएको मानिनेछ भनि उल्लेख गरिएको छ ।
फौजदारी मुद्धामा कैद जरीवाना तोकि सजाय भुक्तान गर्न बाकी रहेका राउत मुलुकी संहिता अनुसार जनप्रतिनिधि हुन अयोग्य ठहरीए पनि उनी निर्वाचनमा उम्मेदबार बनेर जनप्रतिनिधिमा निर्वाचित भएका हुन् ।
यस बिषयमा वडाध्यक्ष राउत संग सम्पर्क गर्दा उनले त्यस समयमा आफु काठ व्यवसायीको रुपमा काम गरेको र मुद्धा परे पछि २ दिनको कैद सजाय तोकिएको फैसला भएको स्वीकार गरे । उनले आफु हाल जनप्रतिनिधिमा निर्वाचित भएको र समय अभावका कारण कैद तथा जरिवाना भुक्तान गर्नका लागि समय अनुकुल नभएको समेत बताए ।
जिल्ला अदालत उदयपुरबाट कैद जरीवाना तोकिएको व्यक्तिलाई कैद भुक्तान तथा जरीवाना असुल्नको लागि प्रहरीलाई पत्रचार गरि सके पनि फरार प्रतिवादीहरुको खोजतलास गर्ने काम भैरहेको जिल्ला अदालत उदयपुरका श्रेस्तदार राजकुमार आचार्यले जानकारी दिनु भयो ।
उदयपुरमा कैद जरीवाना तोकि फरार प्रतिवादीको संख्या बेलका नगरपालिकामा ७६, चौदण्डिगढि नगरपालिकामा १४२, त्रियुगा नगरपालिकामा ३९९, कटारी नगरपालिकामा १११ रहेका छन् । त्यसैगरी रौतामाई गाउँपालिकामा ५९, उदयपुरगढि गाउँपालिकामा ६५, ताप्ली गाउँपालिकामा २८ र लिम्चुङबुङ गाउँपालिकामा ४२ रहेको जिल्ला अदालत उदयपुरले जनाएको छ ।